जनता टाइम्स

८ जेष्ठ २०८०, सोमबार १६:१३

रारा पर्यटकीय पूर्वाधार निर्माणले गति लिँदै


मुगु, ८ जेठ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा तालमा निर्माण हुन लागेको रारा पर्यटकीय पुर्वाधार निर्माणले गति लिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै निर्माण हुन लागेको रारा साइकल मार्गले गति लिन लागेको हो ।

पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै रारा पर्यटकस्य पूर्वाधार निर्माणले गति लिँदै गरेको छ । रारा ताल वरिपरि १४।२ किलो मिटर क्षेत्रमा रारा साइकल निर्माणले गति लिइरहेको हो ।

खानी थोदुङ क्याराभान जेभिका प्रोपाईटर चन्द्र थकालीले ठेक्का लिएको उक्त रारा पर्यटकीय पूर्वाधार निर्माणले पछिल्लो समय काममा रुप लिई रहेको डिभिजन वन कार्यालय मुगुले जनाएको छ ।

४५ करोड २९ लाख १० हजारको सम्झौता रकममा निर्माण हुन लागेको साइकल मार्ग वर्तमान अवस्थामा करिब १ हजार ५०० मिटरभन्दा बढि ड्राई स्टोन सोलिङ राख्ने निर्माण कार्य भइरहेको डिभिजन वन कार्यालय मुगुका सहायक वन अधिकृत प्रनिल देवकोटाले बताए ।

उनका अनुसार गत २४ असारमा सम्झौता भई २५ असारमा वन कार्यालयले कार्यआदेश दिई खानी थोदुङ क्याराभान जेभिले निर्माण कार्य थालनी गरेको हो । बहुवर्षीय योजना रहेको उक्त रारा पर्यटकीय पूर्वाधार निर्माणको २०८३ असार मसान्तसम्म रारा ताल वरिपरि साइकल मार्ग निर्माण कार्यलाई सम्पन गरिसक्नुपर्ने सम्झौतामा भनिएको छ ।

हाल निर्माण कार्य गर्न चालु आर्थिक वर्ष २०७९÷०८० मा कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७ करोड र संघ सरकारले ७ करोड गरि वर्तमान समयमा १४ करोडमा निर्माण कार्य भइरहेको सहायक वन अधिकृत देवकोटाले बताए ।

रारा साइकल मार्ग निर्माणको लागि गत आर्थिक बर्ष ०७७ र ७८ मा तीन करोड विनियोजन भएको थियो । अहिले २००भन्दा बढि कामदारलाई काममा खटाएर निर्माण कार्यलाई गति प्रदान गरिएको खानी थोदुङ क्याराभान जेभिका प्रोपाईटर चन्द्र थकालीले बताए ।