जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार १०:५०

नेपाली बालबालिकाको भिडियो बेलायतका राजकुमारको इन्स्ट्राग्राममा


लण्डन, भदौ १२

बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले नेपालका बालबालिकाहरुले पठाएको एउटा भिडियो इन्स्ट्राग्राममा सार्वजनिक गरेका छन् । ड्युक एण्ड डचेस अफ ससेक्सले यो वर्षको सुरुमा संयुक्त इन्स्ट्राग्राम बनाएर त्यसैबाट सार्वजनिक गरेका हुन् । उनीहरुले हरेक महिना इन्स्ट्राग्राममा ‘फोर्सेज फर चेन्ज’को रुपमा मासिक विशेष थिममा आधारित सामग्री राख्दै आएका छन् ।

यो महिनाको सुरुमा यी जोडीले संसारमा फरक पार्ने ग्रासरुट तहका संस्थाहरुको बारेमा सुझाव मागेका थिए । जसलाई उनीहरुले आफ्नो इन्स्ट्राग्राममा हाइलाइट गरेर प्रोत्साहित गर्न चाहेका थिए । उक्त सामग्री मेघन अतिथि सम्पादक रहेको बृटिश भोग म्यागेजिनको सेप्टेम्बर अंकमा समेत समावेश गरिनेछ । उनीहरुले आफ्ना ९ दशमलब ४ मिलियन इन्स्ट्राग्राम फलोअर्सलाई त्यसका लागि आग्रह पनि गरेका थिए ।

बुधबार उनीहरुले ब्लिंक नाउ फाउण्डेसनलाई हाइलाइट गरे । सो संस्थाले नेपालका बालबालिकालाई सशक्तिकरण गर्न भूमिका खेलिरहेको जनाइएको छ । सो संस्थाबाट फाइदा लिइरहेका बालबालिकाको भिडियोसमेत त्यसमा सार्वजनिक गरिएको छ । त्यसमा नेपाली बालबालिकाले अभिवादन गर्दै भनेका छन्—‘‘नमस्कार मेघन र ह्यारी ।’’

बालबालिकाले अगाडि भनेका छन्, ‘‘यहाँहरुले ब्लिंक नाउलाई परिवर्तनको लागि बल (फोर्सेज फर चेन्ज)को रुपमा रोज्नुभएकोमा हामी धन्य भएका छौं । हामी यहाँहरुको समर्थनको स्रहाना गर्दछौं ।’’ उनीहरुले त्यसपछि सो संस्थाको बारेमा पनि जानकारी दिएका छन् । संस्थाले गरेका राम्रा कामको समेत उल्लेख गरेका छन् । सो संगठनले सुर्खेतको कोपिला भ्यालीमा शिक्षाको काम गर्दै आएको त्यसमा जनाइएको छ ।