जनता टाइम्स

९ जेष्ठ २०८०, मंगलवार १८:०४

यस्तो गाउँ जहाँ कोहि जुत्ता लगाउदैनन् र बिरामी पर्दा अस्पताल जाँदैनन्


एजेन्सी, ९ जेठ । आजको युगमा यो कल्पना गर्न गाह्रो छ, तर भारतको यो गाउँमा सबै मानिसहरू खाली खुट्टा बस्छन्, कोही जुत्ता लगाउँदैनन् । बाहिर जानु परे पनि खाली खुट्टा नै जान्छन् । यति मात्र होइन, परिवारमा कोही बिरामी परेमा मानिस अस्पताल जान मान्दैनन् । कुनै कारणले कतै बाहिर जानु पर्यो वा आफन्तको घरमा जानु पर्यो भने यी मानिसहरू बाहिरको खाना खाँदैनन्, पानीसमेत पिउँदैनन् ।

पत्याउन गाह्रो होला तर यस्तै एउटा गाउँ आन्ध्र प्रदेशको तिरुपतिबाट ५० किलोमिटर टाढा रहेको छ । गाउँको नाम वेमन इन्ड्लु हो। यहाँका गाउँलेहरूले यी कुराहरूलाई आफ्नो पुरानो परम्परा बताउँछन् ।

पुरानो चलनको पालना
जिल्ला अधिकारीले गाउँ आउँदा जुत्ता गाउँबाहिर फुकाल्नु पर्ने गाउँले बताउँछन् । हाम्रो जनजाति यस गाउँमा बसोबास गरेदेखि नै यो चलन चल्दै आएको गाउँका प्रमुख इराब्बा बताउँछन् ।

उनले भने, ‘हामी बाहिर गएर आएपछि नुहाएर मात्रै घरभित्र पस्छौँ र खाना खान्छौँ । म धेरै पटक गाउँ बाहिर गएको छु । एक पटक अदालतको कामले पाँच दिन गाउँबाहिर बस्नुपरेको थियो । मैले आफू बसेको ठाउँको खाना पनि छुइनँ।’

इराब्बा बताउँछन्, ‘म ४७ वर्षदेखि अदालतको काममा बाहिर जाँदैछु। तर मैले कहिल्यै बाहिरको पानी पनि पिइनँ। म घरबाट पानी बोकेर जान्थें र त्यही पानी मात्र पिउँथें। बाहिरको पानी पिउने प्रश्न नै उठ्दैन । बाहिरको खाना खाने त कुरै भएन ।’

गाउँमा कोही जुत्ता लगाउदैनन्
वेमन इन्ड्लु गाउँ आन्ध्र प्रदेशको तिरुपति जिल्लाको पाकला मण्डलको एउटा गाउँ हो। यसमा ८० व्यक्तिको जनसंख्या भएको २५ घरहरू छन् । यस गाउँमा जम्मा ५२ मतदाता छन् । तीमध्ये थोरैले मात्र स्नातक पूरा गरेका छन् । यहाँका मानिसहरू धेरै शिक्षित छैनन् र कृषिमा निर्भर छन्।

तर, यो गाउँका मानिसहरूलाई भेट्न आउने आफ्ना आफन्तले पनि चलन पालना गर्नुपर्ने कुरा रोचक छ । गाउँमा आएका आफन्त महेशले यही गाउँमा बहिनीको बिहे भएको बताए । महेशले भने, ‘यस गाउँका सबै मेरा आफन्तजस्ता लाग्छन् । गाउँमा आउँदा रीति–रिवाज पालना गर्छौं। जब हामी हाम्रो गाउँमा हुन्छौं, हामी हाम्रो रीतिरिवाजहरू पालना गर्छौं।’

महेश भन्छन् , ‘हामी गाउँबाहिर जुत्ता फुकालेर आउँछौं , कुनै घरमा पस्दा पहिले नुहाउँछौं । महिनावारीको समयमा वा परिवारमा भर्खरै कसैको मृत्यु भएको भए पनि तपाईं यस गाउँमा प्रवेश गर्न पाउनुहुन्न।’

यस गाउँका साक्षर मानिसहरूले पनि यो चलन पालन गर्छन्। यस गाउँका मानिसहरु आफूलाई पाल्वेकरी जातको मान्छन् । तिनीहरूलाई आन्ध्र प्रदेशमा पिछडिएको वर्गको रूपमा वर्गीकृत गरिएको छ। यस गाउँका सबै मानिस एउटै कुलका हुन् । उनीहरू आफ्नै जातमा तर, बाहिरीसँग वैवाहिक सम्बन्ध राख्छन् ।

मानिस बिरामी हुँदा अस्पताल जाँदैनन्
गाउँका मानिसहरूले पुरातन मन्दिरमा पूजापाठ र अनुष्ठान गर्छन् । गाउँमा नरसिंह स्वामी र गंगाआमाको पूजा पनि गर्छन् । ‘भगवानले सबैको ख्याल गर्नुहुन्छ’ भन्ने विश्वासले यहाँका गाउँलेहरू अस्पताल जान मान्दैनन् । गाउँपालिका प्रमुख इराब्बा भन्छन्, ‘हामीलाई सर्पले डस्यो भने पनि भगवानले निको पार्नुहुनेछ भन्ने विश्वास छ, हामी कुनै अस्पताल जाँदैनौं। हामी स्नेक हिल परिक्रमा गर्छौं। हामी नीमको रूखको वरिपरि घुम्छौं। हामी अस्पताल जाँदैनौं।’

‘हाम्रो भगवानले हाम्रो हेरचाह गर्नुहुन्छ, हामी बिरामी हुँदा मन्दिरको परिक्रमा गर्छौं। दुई दिन यसो गर्दा हामी फेरि स्वस्थ हुन्छौं । यो हाम्रो परम्परा हो।’ विद्यालय जाने गाउँका बालबालिका पनि जुत्ता लगाएर विद्यालयमा दिइने दिवा खाजा खाँदैनन् । बाहिर कसैलाई छोएमा नुहाएर मात्रै घर भित्र पस्छन् ।

नजिकैको गाउँकी महिला भाविता भन्छिन्, ‘यस गाउँका मानिसहरूले गर्भवती महिलालाई अस्पताल पनि लैजाँदैनन् । उनीहरू घरमा नै सुत्केरी गराइन्छ ।’ भाविताले भनिन्, ‘विद्यालय जाने बालबालिकाले त्यहाँ दिइएको दिवा खाजा खान पाउँदैनन्, खाना खान घर आउँछन्, खान्छन र विद्यालय जान्छन्।’

गाउँमा दलित समुदायलाई निषेध
यस गाउँमा दलित समुदायका मानिसलाई प्रवेश निषेध गरिएको छ । गाउँका जनता दलित समुदायका मानिससँग बोल्दैनन् । महिनावारी हुँदा महिलाहरु गाउँबाहिर बस्नुपर्छ । गाउँका मानिसहरू पनि मिडियाबाट टाढा छन्।

रासन डिपो चलाउने बाबु रेड्डी बताउँछन् कि यहाँ आउने व्यक्ति अफिसर होस् वा विधायक सबैले गाउँ बाहिरै जुत्ता खोलेर आउनु पर्छ ।’ उनले भने, ‘अनुसूचित जातिलाई गाउँमा पस्न दिइँदैन, न त उनीहरूसँग कुरा गरिन्छ, न छुइन्छ । महिनावारी भएका महिलालाई महिनामा कम्तीमा पाँच दिन गाउँबाहिर राखिन्छ।

‘महिनावारी भएका महिलाका लागि गाउँबाहिर कोठा बनाइएको छ, दिनरात एउटै कोठामा बस्नुपर्छ । सरकारका सबै योजनाको फाइदा गाउँलेहरूले पाउँछन् । हामी तिनीहरूको रासन तिनीहरूको घरमा पुर्‍याउँछौं, हामी तिनीहरूको रासन अरूबाट अलग राख्छौं र तिनीहरूलाई दिन्छौं।’