जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार १२:३६

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने


काठमाडौं, भदौ १२

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउने निर्णय गरेको छ । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सो अञ्चल अस्पताल सङ्घीय सरकार मातहतमा ल्याउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को विसं २०७५ पुस २३ गतेको बैठकले राजविराजमा सो प्रतिष्ठान स्थापना गर्ने र गजेन्द्रनारायण अस्पताललाई प्रतिष्ठानमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । मन्त्रालयले सो प्रतिष्ठानको रु नौ अर्बको लगानीमा भौतिक पूर्वाधार निर्माण हुनलागेको जनाएको छ । राजविराज नगरपालिकाले वडा नं १० स्थित विरौलचोकमा प्रतिष्ठानका लागि ६२ बिघा जमीन उपलब्ध गराएको छ ।

यसैबीच, मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ । स्वास्थ्य सेवातर्फका १२औं तहका डा. प्याकुरेलले यही भदौ २२ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ । उहाँको पदावधि थप गर्दा अन्य कर्मचारीको वृद्धि विकासमा असर नपुग्ने भन्दै मन्त्रालयले स्वास्थ्य सेवा ऐनअनुसार उहाँको पदावधि थप गर्न प्रस्ताव गरेको जनाएको छ ।