जनता टाइम्स

१० जेष्ठ २०८०, बुधबार १७:१७

‘टुल्की’ शुक्रबारदेखि प्रर्दशन हुने, टिकट बुकिङ खुला


काठमाडौँ, १० जेठ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को टिकट बुकिङ खुला भएको छ । १२ जेठ शुक्रबारदेखि प्रदर्शन हुन लागेको उक्त चलचित्रको बुधबारदेखि टिकट बुकिङ खुला भएको हो । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले काठमाडौँमा पत्रकार सम्मेलन गरी चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।

चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली क्षेत्रमा चली आएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिनुभयो । ‘चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ,’ उहाँले भन्नुभयो । चलचित्र डोल्पा जिल्लाको शे–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको निर्माता लामाले बताउनुभयो ।

निर्देशक देवजङ थापाले चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको बताउनुभयो । चलचित्र निर्देशन देवजङ्ग थापा तथा छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् ।

चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको हो भने चलचित्रमा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीले गरेका छन् । चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।