जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार १५:२१

सोमाली सेनाद्वारा अल–शबाबका नेता पक्राउ


मोगादिसु, भदौ १२

सोमाली सुरक्षा फौजले बुधबार सोमालियामा भएका पछिल्ला आक्रमणका बारेमा अल–शबाबका वरिष्ट नेतालाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ । अल–शबाबको आक्रमणका कारण हालै मात्र क्षेत्रीय प्रशासन प्रमुखको ज्यान गएको थियो । सोमाली राष्ट्रिय सुरक्षा निकाय (निसा) का अनुसार मोगादिशुमा आइतबार गरिएको आक्रमणमा बनादिर प्रशासनका पूर्व सचिव मोहमद अमिन शेख एल्मीको मृत्यु भएको थियो ।

निसाले शंकास्पद आक्रमणकारीलाई मोगादिशुमा गिरफ्तार गरिएको छ । उनको घरमा खानतलासी गर्दा मोबाइल फोन, ब्याट्री र अरु बम बनाउन प्रयोग गरिने सामान बरामद गरेको थियो । एल्मीको सवारी साधनलाई लक्षित गरी आइतबार भएको आक्रमणमा उनी गम्भीर घाइते भएका थिए । अलकायदासँग सम्बद्ध अल–शबाब समूहले पश्चिमा मुलुकको समर्थनमा बनेको सोमाली सरकार सत्ताच्यूत गर्न केही वर्षदेखि सशस्त्र संघर्ष गरिरहेको छ ।

यही समूहले आइतबारको आक्रमणको पनि जिम्मेवारी लिएको थियो । सोमाली सरकार र अफ्रिकी युनियनका सैनिकले अल–शबाब विरुद्ध मध्य र दक्षिणी सोमाली क्षेत्रमा भिषण कारबाही गरिरहेका छन् । तैपनि, विद्रोहीहरुले सोमालियाको धेरै ठूलो भूभागमा कब्जा गरिरहेका छन् । उनीहरुले सडक लगायतका विभिन्न ठाउँमा विद्युतीय धराप बिछ्याएर सुरक्षाफौज र सर्वसाधारणको ज्यान लिने गरेका छन् ।