जनता टाइम्स

१४ जेष्ठ २०८०, आईतवार ०७:५६

जीवन्त अभिनय सटिक प्रस्तुति हुक्का


काठमाडौँ, १४ जेठ । गाउँघरमा हुनेखाने परिवारका बाजेबराजुको सामाजिक वैभवका रूपमा तान्ने हुक्कालाई लिएर एक युवकले आफू पनि हुक्का तान्दै फुक्का जीवन व्यतित गर्ने सपना देख्छ। त्यसका लागि उसले जायज र नाजायज काम गर्दा खाएको हन्डर र सास्ती चलचित्रमा ‘हुक्का’ को कथामा देखिन्छ।

चलचित्रका अभिनेता तेज गिरी ९पिल्ले० लाई एकातिर बहिनीको घरबार बसाउन ज्वाइँले मागेको रकम उपलब्ध गराउनुपर्ने बाध्यताले थिचेको छ भने अर्कोतिर आफूले प्रेम गरेकी (मुखिया बा) की छोरी (प्रमिला खनाल) मीनालाई पाउन चार कोठाको घर नठड्याई भएको छैन। बाबुबाजेको सानसौकत देखेका पिल्लेको आम्दानीको स्रोत खासै नभए पनि अलिअलि गरेर सहकारीमा सञ्चित रकमबाट बहिनी ज्वाइँको माग पूरा गरी बचेको रकमले घर बनाउन थाल्छन् । घर निर्माण गर्दा उनले दीपक ठेकेदारको निर्माण स्थलबाट सिमेन्टलगायत निर्माण सामग्री चोरी गरेको ठेकेदारले चाल पाउँछ । उसले पिल्लेको कर्तुत लुकाउन मीना एक रातका लागि आफूलाई दिनुपर्ने सर्त राख्छ। यही आक्रोशमा पिल्लेले दीपकलाई नराम्रोसँग कुटपिट गर्छ। भोलिपल्ट चोरीको आरोपमा पिल्लेलाई प्रहरीले पक्रन्छ र थुनामा पर्छ। यसरी नै चलचित्रको कथा अघि बढ्छ। ठेकेदारसँग बिन्तीभाउ गरेर कसरी मीनाले आफ्नो श्रीमान्लाई जेलमुक्त गर्छिन् र आफ्नो घर व्यवहार सम्हाल्न प्रयत्नरत हुन्छिन् भन्ने कुरा पनि चलचित्रको मुख्य विषय बनेको छ। त्यस्तै पिल्लेले श्रीमती मीनामाथि गरेको आशङ्का र पुरुष अहम्का कारण आपसी प्रेम हुँदाहुँदै परिवारमा बेचैनी र कलह सुरु हुन थाल्छ। पिल्ले जोगीको भविष्यवाणीमा परी ठुलै आशाको साथ अवसरको खोजी गरेको कुरा पनि चलचित्रमा दर्शाइएको छ।

करोडपति बन्ने सपनामा हुनेखाने परिवारकी बिधुवालाई फसाउने चक्करमा पोखरामा हिँडेको पिल्लेले खाएको हन्डर र दुःख मार्मिक रूपमा प्रस्तुत चलचित्रको कथामा जोडिएको छ। अन्त्यमा पिल्ले कुन अवस्थामा जोगीको शरणमा पर्छन् र कुन अवस्थामा मीनासँगको पुनर्मिलन हुन्छ भन्ने कुरा चलचित्रमा देख्न सकिन्छ। चलचित्रमा युवा अवस्थामा श्रीमान् बाहिरिएपछि श्रीमती आफ्नो शारीरिक चाहना पूरा गर्न अपनाएको बाटो र एउटाले गरेको गल्तिलाई औँल्याउँदै अन्य महिलाप्रति गरिने आशङ्का र दृष्टिकोणलाई पनि रोचक रूपमा प्रस्तुत गरिएको छ । कुनै खास लाग्ने गीत र तडकभडक नभए पनि दर्शकलाई दुई घण्टा दस मिनेट रोक्न चलचित्रले सहजै सक्छ। शम्भु थापाको निर्देशकीय पक्ष राम्रो छ। उहाँले कसरी एउटा हुक्काले मान्छेको जिन्दगीमा परिवर्तन ल्याउन सक्छ भन्ने कुरा चलचित्रमा दर्शाउन खोज्नुभएको छ। चलचित्रभित्र कलाकारको भेषभूषा र लवज वास्तविक लाग्छ। कलाकार प्रकाश घिमिरे र प्रमिला खनालको अभिनय दमदार छ। त्यस्तै अन्य कलाकार सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भागलगायतका अभिनय पनि जीवन्त छ।