जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार १९:०९

जलवायु परिवर्तनको भयावह रुप : १९ वर्षमा देखियो २१ ओटा नयाँ रोग


काठमाडौं, भदौ १२ । जलवायु परिर्वतनका कारण पछिल्ला १९ वर्षमा विश्वभर विभिन्न २१ वटा नयाँ रोगहरु देखा परेको तथ्य बाहिर आएको छ । बिभिन्न अनुसन्धानले सो अवस्था देखाएको हो ।

स्वास्थ्य मन्त्रालयस्थित स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठका अनुसार जलवायु परिर्वतनका कारण नयाँ रोगहरुको प्रकोप बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा आयोजना गरेको स्वास्थ्य प्रणालीमा सुधार विषय अन्तरक्रियामा सन २००० यता २१ वटा नयाँ रोगहरु देखा परेको जानकारी श्रेष्ठले दिनुभयो ।

श्रेष्ठका अनुसार सिमित मुलुकमा देखिदै आएको डेंगु ८/१० वर्षभित्र विश्वका झण्डै ३० देशमा फैलिएको छ । उहाँले जलवायु परिर्वतनका कारण मानविय स्वास्थ्यमा गम्भीर समस्या देखिने क्रम बढेको भन्दै त्यसलाई न्यूनीकरण गर्नुपर्ने धारणा पनि राख्नुभयो । ‘सन् २००४ मा नेपालको चितवनमा देखिएको डेंगुको समस्या अहिले ६ वटा प्रदेशका ४२ जिल्लामा पुगेको छ,’ श्रेष्ठले भन्नुभयो, ‘कालाजार र औलोको समस्या पनि पुनः देखा परेकोले समयमै ध्यान दिनुपर्ने आवश्यकता छ ।’

स्वास्थ्य मन्त्रालयले जलवायु परिर्वतनबाट उत्पन्न स्वास्थ्य समस्या, सम्बोधन र भविश्यमा अपनाउनुपर्ने रणनीति लगायत विषयमा सरोकारवाला पक्षसंग छलफल गर्न कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा तात्कालिन, मध्यकालिन र दिर्घकालिन रणनीति बनाएर जलबायु प्रभावको असरबाट थपिने रोग न्यूनिकरणमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।