जनता टाइम्स

१३ भाद्र २०७६, शुक्रबार १०:०४

अखिल पदाधिकारीले गरे पदबहाली, भाद्र मशान्तभित्र एकतालाई पुर्णता दिने घोषणा


काठमाडौं, भदौ १३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट बिद्यार्थी संगठन अनेरास्ववियूको एकताले भाद्र मशान्तभित्र पूर्णता पाउने भएको छ । अनेरास्वबियूका इन्चार्ज हितमान शाक्यले भदौभित्र एकता टुंगो लगाउने जानकारी दिनुभएको हो । संगठनको एकताले पूर्णता पाउने भएपछि बिहीबार बागबजारस्थित साझा कार्यालयको उद्घाटन भएको छ ।

बागबजारस्थित साविक अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय कार्यालयलाई नयाँ व्यवस्थापनसहित साझा कार्यालय बनाएको छ । उद्घाटनपछि नेकपाका तर्फबाट विद्यार्थी ‘फ्याक्सन’ हेर्ने जिम्मेवारी पाउनुभएका इन्चार्ज शाक्य र सहइन्चार्ज विनोद ढकाललाई कार्यालयमा स्वागत गरिएको थियो ।

कार्यभार सुम्पिएको औपचारिक घोषणापछि अनेरास्ववियूका नवनियुक्त संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आआफ्नो कार्यकक्षमा पदभार सम्हाल्नुभएको छ । कार्यक्रममा शाक्यले भाद्र महिनाभित्र अनेरास्ववियूको एकता सकिने गरी छलफल भएको जानकारी दिनुभयो भने अनेरास्ववियूका संयोजक महर र तामाङले आफूहरु एकताको काममा जुटेको बताउनु भयो ।

कार्यालय उद्घाटन समारोहमा अनेरास्ववियूका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, ठाकुर गैरे, रामकुमारी झांक्री, रमेश मल्ल, नविना लामालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अनेरास्ववियूका नेता कार्यकर्ता पनि सहभागी भएका थिए ।