जनता टाइम्स

१३ भाद्र २०७६, शुक्रबार १२:५६

झलनाथ खनालको ठोकुवा : गुटबन्दी पार्टीभित्रका अपराध हुन, बरियता सच्याइएको हो


काठमाडौं, भदौ १३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले गुटमा नलाग्न सवै नेता कार्यकर्तालाई आग्ह गर्नुभएको छ । गुटले पार्टी नै बिगार्ने भन्दै नेता खनालले सवै नेता कार्यकर्ता नेकपा बलियो बनाउन लाग्नुपर्ने बताउनु भयो ।

‘मेरो गुट भनेकै नेकपा हो । नेकपा बलियो भए म बलियो हुन्छु । नेकपा कमजोर भए म पनि कमजोर हुन्छु । म गुटबन्दीलाई अपराध ठान्छु । तपाईं जोजसका गुटहरूका कुरा गरिरहनुभएको छ, ती सबै गुटबन्दी पार्टीभित्रका अपराध हुन । ती गुटहरूमा अपराधपूर्ण क्रियाकलाप हुन्छन,’ बरिष्ठ नेता खनालको भनाई छ । उहाँले गुट बनाउनेहरुले पार्टी सकाउने ठोकुवा पनि गर्नुभयो ।

‘जसले गुटबाट शक्तिशाली हुन ठानेका छन्, ती एक किसिमका रजौटाहरू जस्ता हुन् । गुटका नायकहरू वास्तवमा रजौटा नायक हुन् । त्यसबाट आफूलाई शक्तिशाली ठान्नु व्यर्थ छ । जो कसैले पनि पार्टीलाई बलियो बनाउन लाग्नुपर्छ,’ खनालले भन्नुभयो, ‘पार्टी बलियो भयो भने समाजवादको यात्रामा अघि बढ्न सक्छौँ । पार्टीलाई बलियो नबनाउने, गुटलाई बलियो बनाउने हो भने पार्टीले संस्थागत रूपमा काम गर्न सक्दैन । यस्तो भयो भने न क्रान्ति गर्न सकिन्छ न निर्माण गर्न नै । त्यसकारण म सधैँभरि गुटविरुद्ध छु । गुट होइन, नेकपा निर्माण गर्न सबै नेता कार्यकर्ता लाग्नुपर्छ । पार्टीमा भएका सबै कम्युनिस्ट कार्यकर्ताको यस्तै धारणा हुनुपर्छ ।’

बरिष्ठ नेता खनालले सचिवालयले पन्ध्र महिना पहिलाको निर्णय सच्याएको भन्दै अर्का नेता माधवकुमार नेपाल असन्तुष्ट हुन नहुने बताउनु भयो । ‘मलाई त्यस्तो केही लाग्दैन । यो वरीयतालाई सच्याउन पार्टीले महत्वपूर्ण निर्णय गर्यो । कम्युनिस्ट पार्टी अरूभन्दा भिन्न हुन्छ, जतिवेला आफूले गल्ती गरेको महसुस गर्छ, त्यो वेला सच्याउँछ । विगतलाई सच्याएर अघि बढ्ने भएकाले बुर्जुवा पार्टीभन्दा हामी फरक हुन्छौं,’ खनालले भन्नुभया ।