जनता टाइम्स

१७ जेष्ठ २०८०, बुधबार १९:२५

गठबन्धन सरकारका कारण राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनता संकटमा : पृथ्वीसुब्बा गुरुङ


नवलपुर, जेठ १७ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गठबन्धन सरकारका कारण राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनता संकटमा परेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल नवलपुर शाखाको नवौँ वार्षिक साधारण सभालाई बुधबार सम्बोधन गर्दै गुरुङले सरकारका कार्यक्रम र गतिविधि राष्ट्र हित विपरीत रहेका बताउनुभयो । सरकारले एक पछि अर्को राष्ट्र हित विरुद्धका काम गरिरहेको उहाँको भनाइ छ ।

देश आर्थिक हिसाबले पनि निक्कै संकटमा रहेको गुरुङले बताउनुभयो । यस्तो अवस्थामा पनि सरकार गम्भीर नभएको उहाँको भनाइ छ । सरकारले ल्याएको बजेट कर्मकाण्डी, परम्परावादी, र निराशा र अस्थिरता ल्याउने खालको रहेको उहाँले बताउनुभयो । ‘६५ प्रतिशत बजेट एउटा सरकारलाई र बाँकी बजेर ७ सय ६० वटा सरकारलाई वितरण गरेर सरकारले संघीयता विरोधी बजेट ल्याएको छ’, गुरुङले भन्नुभयो ।

अहिलेे एमाले विरुद्ध डरलाग्दो घेराबन्दी भएको पनि गुरुङले बताउनुभयो । एमालेको विरुद्ध सबै शक्ति लागेर भ्रामक प्रचार गरिरहेका उहाँको भनाइ छ । सरकारले छानबिन गर्नु पर्ने भ्रष्टाचारका अनेक काण्ड भए पनि विना सन्दर्भ पशुपति मन्दिरको सुन काण्डको विषय उठाएर एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हमला भएको उहाँले बताउनुभयो । ‘एमालेलाई सत्तामा जानै दिनुहुन्न, समाप्त पार्नुपर्छ भनेर केही शक्ति हात धोएर लागेका छन,’ गुरुङले भन्नुभयो ।

गुरुङले देश निर्माणको लागि कम्युनिष्ट बिचको सहकार्य र एकता जरुरी रहेको बताउनुभयो । विभिन्न चिरामा विभाजित कम्युनिष्ट पार्टी एक ठाउँमा आउनु पर्नेमा उहाँले जोड दिनुभयो । गुरुङले एमालेका जनवर्गिय संगठन र पार्टीलाई व्यवस्थित गरेर अघि बढाउन आवश्यक रहेको बताउनुभयो । भद्रगोल तरिकाले पार्टी र जनसंगठन नचल्ने उहाँको भनाइ छ ।

जनसंगठन र पार्टीमा युवा पुस्ताको सहभागिता आजको चुनौती रहेको गुरुङको भनाइ छ । एमाले र त्यसका जनसंगठन अन्य पार्टी र तिनका जनसंगठन भन्दा फरक देखिनु पर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा लगायतले बोल्नुभएको थियो । सो कार्यक्रममा प्रेस चौतारीको तर्फबाट पत्रकारिता पुरस्कार समेत वितरण गरिएको थियो ।