जनता टाइम्स

१३ भाद्र २०७६, शुक्रबार १५:४२

अघि बढ्यो प्रेस संगठनको एकताको काम, यस्तो छ एकता टुंग्याउने योजना


काठमाडौं, भदौ १३ । प्रेस संगठन नेपालले साँगठानिक एकताको काम अघि बढाएको छ । साँगठानिक एकता अघि बढाउने क्रममा इञ्चार्ज राजेन्द्र गौतम, सहइञ्चार्ज ओम शर्मा, सहइञ्चार्ज तथा संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आज महासचिव बिष्णु पौडेलसँग भेट गरेको छ ।

भेटको क्रममा महासचिव पौडेलसँग एकताको बाँकी काम अघि बढाउन बिधान स्वीकृत लगायतका बिषयमा तत्कालै निर्णय गर्न सुझाव दिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा इञ्चार्ज गौतमले प्रेस संगठनको एकतालाई अत्यन्तै तीब्र गतिमा अघि बढाउनु पर्ने आवश्यकता औल्याउँदै पार्टीले दिनुपर्ने निर्देशन र निर्णय अबिलम्ब पठाउन आग्रह गर्नुभयो ।

‘आगामी फागुन चैतमा पत्रकार महासंघको निर्वाचन हुने भएकोले अन्य संगठन जस्तो बिस्तारै काम गर्ने छुट प्रेस संगठनलाई छैन, कामलाई तीब्रता दिएर अघि बढनुपर्ने बाध्यता छ, त्यसैले यो बिषयमा तत्कालै निर्णय होस भन्ने हाम्रो चाहना छ,’ महासचिवसँगको छलफलमा इञ्चार्ज गौतमले भन्नुभयो । महासचिव पौडेलले आगामी सचिवालय बैठकमा राखेर संगठनको सवै बिषयमा टुंगो लगाएर पठाउने प्रतिवद्धता जनाउनु भएको छ ।

नेकपाले गत जेठ २ गते प्रेस संगठनको संयोजकमा दाहाल र सहसंयोजकमा बस्नेतलाई तोकेको थियो भने अघिल्लो सचिवालय बैठकले इञ्चार्ज र सहइञ्चार्ज तोकेको हो । प्रेस संगठन नेपालले असोज दोस्रो साताभित्र सवै तहको एकता टुंग्याउने गरी गृहकार्य गरिरहेको संयोजक दाहालले बताउनु भयो । जनबर्गीय संगठनमा सर्वसम्मत रुपमा केन्द्रीय कमिटीको संख्या, नाम र झण्डा बुझाएको प्रेस संगठनले भावनात्मक एकताको मुल मान्इतासहित साँगठानिक एकताको टुंगो लगाउने कार्यबिधि बनाएको छ ।