जनता टाइम्स

१३ भाद्र २०७६, शुक्रबार १८:३७

बेहुली बनाएर चीनमा युवती बेच्ने मानव तस्करको पोल खुल्यो, यस्तो छ पीडादायी कथा


काठमाडौं, भदौ १३ । नेपाली युवतीलाई बिहे गरी चीनमा तस्करी गर्ने संगठित गिरोहका सदस्यहरु पक्राउ परेका छन । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले लामो अनुसन्धानपछि बिहे गर्दै चीनमा मानव तस्करी गर्ने गिरोहका सदस्यलाई पक्राउ गरेको हो ।

नेपाली र चिनियाँ दलालले ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका युवतीलाई पैसा दिएर विवाह गरी चीनमा तस्करी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो । एक युवती विवाह गरेबापत काठमाडौंमा रहेका चिनियाँ दलालले ८० हजार, युवतीका अभिभावकले ५० देखि ६० हजार रुपैयाँसम्म लिएको तथ्य फेला परेको ब्युरो प्रमुख प्रहरीबरिष्ठ ृउपरीक्षक (एसएसपी) ईश्वरबाबु कार्कीले जानकारी दिनुभयो । ब्युरोले नेपाली युवती चीनमा तस्करी गर्न खोजेको आरोपमा ६ जना नेपाली र चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बुकी रिना तामाङ भन्ने बिबिरानी तामाङ, नुवाकोट ककनीका रोज तामाङ, लमजुङ बेसीसहरकी अमृता तामाङ, सोही ठाउँका भरत तामाङ र उषा कुमारी घिमिरे रहेका छन । त्यस्तै चिनियाँ नागरिकहरूमा चीन हुवईका जिङ झियाङ डोङ, ज्याङ डोङ हुई, क्वान झ्याङ पेङ र क्विन लियाङ छन । उनीहरुलाई भदौ महिनामा विभिन्न स्थानबाट पक्राउ गरिएको एसएसपी कार्कीले बताउनु भयो । उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको छ । घटनाको थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

‘१० जना मिलेर पाँच नेपाली युवतीलाई चिनियाँ नागरिकसँग विवाह गरेर चीनतर्फ तस्करी गर्न खोजेको देखिएको छ,’ बबरमहलस्थित ब्युरो कार्यालयमा पत्रकार सम्मेलन नै आयोजना गरी एसएसपी कार्कीले भन्नुभयो । प्रहरीले सूचनाकै आधारमा चीनतर्फ लैजाने क्रममा लमजुङ सीमपानीकी सोनी गुरुङ, कविता गुरुङ, धादिङ निलकण्ठकी ललिता गुरुङ, कास्की लेखनाथकी शर्मिला परियार, सुनसरी ईनरुवाकी र विन्दा चौधरीलाई उद्धार गरेको छ ।