जनता टाइम्स

२२ जेष्ठ २०८०, सोमबार १३:००

अस्ताए महाभारतका शकुनी मामा गुफी


मुम्बई, २२ जेठ । महाभारतमा शकुनीको भूमिका निभाएर चर्चित बनेका अभिनेता गुफी पेन्टलको आज बिहान निधन भएको छ । उनी ७८ वर्षका थिए । पेन्टल ८ दिनयता मुम्बईस्थित अँधेरी अस्पतालमा भर्ना भएका थिए । उनलाई हृदय र मृगौला सम्बन्धी समस्या थियो । गुफीका भतिज हितेन र महाभारतमा उनका साथी कलाकार सुरेन्द्र पालले निधनको पुष्टि गरेका छन् । उनको आज ४ बजे अन्तिम संस्कार गरिनेछ । एक साताअघिमात्र गुफीको स्वास्थ्यमा समस्या आएको थियो ।

त्यो समयमा उनी फरीदाबादमा थिए । त्यहाँको अस्पतालमा भर्ना भए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई मुम्बई ल्याइएको थियो । गुफीले सन् १९७५ मा फिल्म ‘रफू चक्कर’बाट बलिउडमा डेब्यू गरेका थिए । ८० को दशकमा उनले कैयौं फिल्म र टेलिभिजन शोमा अभिनय गरे । यद्यपि उनले पहिचान भने सन् १९८८ मा बीआर चोपडाको महाभारतबाट पाए । उनी पछिल्लोपटक स्टार भारतको शो ‘जय कन्हैया लाल की’मा अभिनय गरेका थिए । अभिनयमा आउनुअघि उनी सेना थिए । उनले सानो भाई कन्वरजीतको भनाई मानेर सन् १९६९ मा मुम्बई आएका थिए ।

त्यहाँ उनले मोडलिङ र अभिनय सिकेपछि कैयौं फिल्ममा सहायक निर्देशकका रुपमा काम गरे । त्यही बेला उनले महाभारतमा कास्टिङ निर्देशकका रुपमा काम गर्ने मौका पाए । ‘म महाभारतमा शकुनीको चरित्र निभाउनका लागि उपर्युक्त अनुहारको खोजीमा थिएँ । मैले शोका लागि सबै कलाकारको अडिसन लिएँ । मैले यो भूमिकाका लागि तीन व्यक्तिलाई छनोट गरें । यही समयमा स्क्रिप्ट लेखक मासूम रजाले मलाई नै शकुनीको भूमिकामा अभिनय गर्न सल्लाह दिए । यसरी म महाभारतको शकुनी बनें’, उहाँले भन्नुभएको थियो ।