जनता टाइम्स

२२ जेष्ठ २०८०, सोमबार १३:२६

ललितपुरमा विश्व वातावरण दिवस मनाइयो


ललितपुर, २२ जेठ । ललितपुरमा वृक्षारोपण र सरसफाइ कार्यक्रम आयोजना गरी विश्व वातारण दिवस मनाइएको छ । डिभिजन वन कार्यालय ललितपुर र वातावरण क्षेत्रमा काम गर्दै आएका संघसंस्थाको अगुवाईमा जनचेतनामुलक कार्यक्रमका साथै वृक्षारोपण र सरसफाइ गरी दिवस मनाइएको हो । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भइ हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउन लागिएको हो ।

यस वर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ । ‘प्रकृतिलाई प्लास्टिकमुक्त बनाइ पर्यावरणलाई संरक्षण गर्नु आवश्यक छ,’ ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भन्नुभयो,‘प्लास्टिकको झोला तथा सामग्रीको साटो कपडालगायतका वातावरणलाई कम हानी गर्ने सामग्रीको प्रयोग बढाउनुपर्छ ।’

डिभिजन वन कार्यालय ललितपुरका सूचना अधिकारी थीरप्रसाद कोइरालाले दिवसका अवसरमा महानगरपालिका प्रमुख महर्जनको अगुवाईमा ग्वार्कोदेखि लामाटारसम्मका सडकपेटीमा वृक्षारोपण गरिएको जानकारी दिनुभयो ।