जनता टाइम्स

२२ जेष्ठ २०८०, सोमबार १५:२८

कोशीमा पनि एमाले नेतृत्वको सरकार संकटमा, माओवादीले समर्थन फिर्ता लिँदै


विराटनगर, २२ जेठ । हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई माओवादी केन्द्रले दिइरहेको समर्थन फिर्ता लिन निर्देशन दिएको छ । माओवादी केन्द्रको सचिवालय बैठकले कोशी प्रदेश संसदीय दललाई तत्काल एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको हो । यसअघि नेपाली कांग्रेसले माओवादीलाई एमाले नेतृत्वको सरकारलाई दिएको फिर्ता गर्न दलको बैठकबाट निर्णय गरी पत्र नै पठाएको थियो ।

पत्र पठाए पनि केन्द्रबाट निर्देशन नआएको भन्दै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । एमाले नेतृत्वको सरकारमा माओवादी पनि कोशी प्रदेश सरकारमा सहभागी छ । माओवादीले २ वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ । संघमा नेपाली कांग्रेससहितको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । संघमा एउटा गठबन्धन भएको र प्रदेशमा अर्कैसँग गठबन्धन भएको भन्दै कांग्रेसले विरोध गर्दै आइरहेको छ ।