जनता टाइम्स

२३ जेष्ठ २०८०, मंगलवार १३:२०

हिक्मत सरकारको निरन्तरताबाहेक अरु नसोचेको राप्रपाको प्रष्टोक्ति


विराटनगर, २३ जेठ । राप्रपाले एमाले नेतृत्वको सरकारको विकल्पबारे अहिले नसोचेको प्रष्ट पारेको छ । कोशी प्रदेश सरकारमा रहेको मुख्यमन्त्री हिक्मत कार्की, राप्रपा संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलासहितको छलफलमा कार्की नेतृत्वको सरकारको निरन्तरताको विकल्प नभएको निष्कर्ष निकालेको हो ।

बैठकमा राप्रपाका अरू प्रदेश सांसदसमेत सहभागी थिए । एमालेबाट प्रदेश मन्त्री, एमाले संसदीय दलका सचेतक र विराटनगरमा उपलब्ध केही प्रदेश सभा सदस्य सहभागी थिए । बैठकले बजेट नीति तथा कार्यक्रम ल्याउने बेलामा सरकार परिवर्तन गर्नु ठीक नभएको निष्कर्ष निकालेको हो ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट मन्त्रीहरू फिर्ता गराउने तयारी गरिरहँदा माओवादीबाहेक सरकारमा रहेका दलहरूको बैठक बसेको हो । राप्रपा संसदीय दलका नेता तथा मन्त्री भक्ति सिटौलाले राप्रपाले यो सरकारको निरन्तरताबाहेक अरू नसोचेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले अहिले सरकार परिवर्तनका बारेमा सोचेका छैनौं । अरूले सरकार छाडे पनि नछाडे पनि राप्रपाले सरकार छाड्दैन । दिएको समर्थन पनि फिर्ता लिँदैन ।’ छलफलमा सहभागी सामाजिक विकासमन्त्री बुद्धिकुमार राजराजभण्डारीले सरकारको निरन्तरताका विषयमा राप्रपा सकारात्मक भएको बताउनुभयो । कोशी प्रदेश सरकारमा एमालेसहित राप्रपा, माओवादी सहभागी छन् ।

सत्ता साझेदार माओवादीलाई सोमबार सरकारलाई दिएको समर्थन फिर्ता गर्न माओवादी केन्द्रले निर्देशन दिइसकेको छ । तर, माओवादी प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गरिसकेको छैन । सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने विषयमा हिजो बसेको माओवादी संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको थियो ।