जनता टाइम्स

१४ भाद्र २०७६, शनिबार ०८:५३

देउवापनि मुछिएपछि कांग्रेसको राजनीतिक प्रतिवेदनबाट वाइडबडी काण्ड नै गायब


काठमाडौं, भदौ १४

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाईजहाज काण्ड’ उल्लेख गरिएकोमा पार्टीका केन्द्रीय सदस्यहरूले नेतृत्वमाथि प्रश्न गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको समेत नाम मुछिएपछि प्रतिवेदनबाट सो काण्डको नाम उल्लेख नगरिएको हुन सक्ने कांग्रेसकै नेताहरुले आरोप लगाएका छन् । कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले बिहीबारको बैठकमा प्रस्तुत गरेको दुई पृष्ठको राजनीतिक प्रस्तावमा नेपाल वायुसेवा निगमको ‘वाइडबडी काण्ड’ लाई लक्षित गर्दै ‘हवाईजहाज’ भन्ने नरम शब्दावली प्रयोग गरेका थिए । त्यसैलाई लिएर शुक्रबारको बैठकमा अधिकांश सदस्यहरूले ‘वाइडबडी’ लेख्न किन डराएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका हुन् ।

वाइडबडी प्रकरण लेख्नुपर्ने माग राख्नेमा संस्थापन इतरपक्षीय केन्द्रीय सदस्यहरू बढी छन् । उनीहरूले सभापति देउवाको नामसमेत यस प्रकरणसँग जोडिएर आएकाले दस्तावेजमा चलाखीपूर्वक ‘वाइडबडी’ नलेखिएको आशंका गरेका छन् ।

सभापति देउवाले वाइडबडी प्रकरणको छानबिन गर्न संसदबाट माग गरेका थिए । तर, विस्तारै पहिलो किस्ता दिनेबेला उनि आफै संलग्न देखिएपछि त्यसबाट पछि हटेका थिए । संसद्ले लेखा समितिमार्फत उपसमिति बनाई छानबिन गरेको थियो । तर, देउवाको नाम यस प्रकरणसँग जोडिएर आएपछि नेतृत्व मौन बस्न थालेको पार्टीभित्रै आरोप लाग्दै आएको छ ।

कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले जहाज प्रकरण उल्लेख गर्दा कुन जहाज प्रकरण हो भन्ने कुरा प्रस्ट नभएको बताउनु भयो । ‘लाउडा काण्ड, चेज काण्ड, विमान दुर्घटना हो कि वाइडबडी भन्ने खोजिएको हो ? प्रस्ट भएन,’ थानीले भन्नुभयो, ‘राजनीतिक प्रस्तावमा वाइडबडी भनेर किटानीसाथ किन लेख्न नसकिएको ?’

सहमहामन्त्री प्रकाशरण महतले ‘वाइडबडी’ मात्रै नभएर ‘न्यारोबडी’को अनियमितताको विषयसमेत आएकाले ‘हवाईजहाज काण्ड’ भनेर लेखिएको बताउनु भयो । सभापतिको नाम जोडिएको भएर वाइडबडी लेख्न डराउनु भएको हो भन्ने प्रश्नमा महतले भन्नुभयो, ‘सबैभन्दा पहिला सभापतिले नै संसद्बाटै छानबिनको माग गर्नु भएको हो । महासमिति बैठकमा वाइडबडी काण्ड भनेर मैले नै राखेको प्रस्ताव पारित भएको छ । नियतवश नलेखिएको होइन । प्रस्ट पार्न परे यसमा परिमार्जन गर्न सकिन्छ ।’