जनता टाइम्स

१४ भाद्र २०७६, शनिबार १३:३५

पर्यटनमन्त्री भट्टराईको काम र योजना सुनेर देउवाले गरे घोषणा : गो अ हेड, आइएम वीथ यू


काठमाडौं, भदौं १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ ‘संस्कार’को सुरुवात गर्नुभएको छ । मन्त्री भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरिरहेको कामको बारेमा जानकारी दिनुका साथै आवश्यक सहयोग र सुझाव लिनुभएको हो ।

शनिबार बिहान पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाको बुढानलीकण्ठस्थित निवाशमै पुगेर पर्यटनमन्त्री भट्टराईले आफूले सम्हालिरहेको मन्त्रालयको काम, र आगामी योजनाको बारेमा जानकारी गराउनु भएको हो । मन्त्री भएपछि बिपक्षी दलका नेतालाई समेत जानकारी गराउँदै आफ्नो योजनामा सहयोग माग्ने भट्टराई संभवन पहिलो मन्त्री हुनुहुन्छ ।

देउवासँगको भेटमा आफ्नो मन्त्रालयले केही दिन पहिले सार्वजनिक गरेको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराउनु भएको थियो । ‘मन्त्रालयका काम र भ्रमण वर्ष–२०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह, सुझाव दिनु भएको छ,’ देउवासँगको भेटपछि मन्त्री भट्टराईले भन्नुभयो ।

देउवा निवास बुढानिलकण्ठ स्रोतका अनुसार मन्त्री भट्टराई आफ्नै निवासमा आएर योजना बताएपछि देउवाले निकै प्रसन्नता देखाउनु भयो । उहाँले हरेक काममा आफ्नो र कांग्रेसको साथ हुने घोषणा पनि मन्त्री भट्टराईसामु गर्नुभएको छ । ‘गो अ हेड, आइएम वीथ यू’ मन्त्री भट्टराईले आफूले गरेको काम र आगामी योजना सुनेपछि देउवाको भनाई थियो ।

यसअघिसम्म मन्त्रीहरुले प्रमुख प्रतिपक्षी दलका नेतालाई मन्त्रालयको कामको बारेमा जानकारी दिने प्रचलन थिएन । मन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई आफ्ना मन्त्रालयको कामको योजना सुनाएर असल राजनीतिक संस्कारको सुरुवात गरेको भन्दै सामाजिक सञ्जालमा प्रशंसा भएको छ । यो पहिलो र नयाँ राजनीतिक संस्कारको सुरुवात भएको धेरैले उल्लेख गरेका छन् ।

मन्त्री भट्टराईको यो कामलाई सवैले वाहावाही गरेका छन भने सवैको सहयोगमा आफ्नो योजना सफल बनाउने मन्त्री भट्टराईको लक्ष्य पनि प्रष्ट देखिएको् छ ।