जनता टाइम्स

१४ भाद्र २०७६, शनिबार १६:३८

गौहत्याको छानविन गर्न गृहमन्त्रालयद्वारा समिति गठन


काठमाडौं, भदौ १४

सुर्खेतमा गरिएको भनिएको गौहत्याको सरकारले छानविन गर्ने भएको छ । गृहमन्त्रालयले सुर्खेतमा भएको गौहत्या प्रकरणबारे छानबिन गर्नका लागि छानबिन समिति गठन गरेको हो ।

शनिबार गृहमन्त्रालयले विज्ञप्ति जारी गरी गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएको छ । छानबिन गरी प्रतिवेदन १५ दिनभित्र बुझाउन गृहले निर्देशन दिएको छ । शव व्यवसथापनको जिम्मेवारी वीरेन्द्र नगर नगरपालिकालाई जिम्मा दिइएको छ ।

बुधबार राति वीरेन्द्रनगरभन्दा माथि कटकुवा जंगलमा गाई भिरबाट खसालिएको भनिएको छ । गृहका अनुसार त्यहाँ २४ वटा गाईगोरु मरेका भेटिएको हो । नेपालगञ्जमा रहेको काञ्जी हाउसबाट दैलेख लाने भनेर ३७० वटा गाईगोरु जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसमा ८ वटा ट्रकमा ल्याइएको थियो। ती गाईगोरु बाटोमा फाल्दै ल्याइएको भेटिएको छ ।

वीरेन्द्रनगरको कटकुवा क्षेत्रमा बेवारिसे छोडिएकामध्ये १४४ वटा गाई नेपालगञ्ज फिर्ता पठाइएको छ । यसैविच, नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलका अनुसार दैलेखका लागि ल्याइएका गाईहरू नगर प्रहरीको नेतृत्वमा ल्याइएको जानकारी दिनुभएको छ ।