काठमाडौं, २९ जेठ । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले नेपालको संविधान तथा कानुनले व्यवस्था गरेको महिला अधिकारको पूर्ण कार्यान्वयन गर्न सरकारसंग माग गर्ने भएको छ । ‘समता र सशक्तीकरणः सेवामा सबलिकरण’ भन्ने मूल नाराका शनिबार र आइतबार काठमाडौंको थापाथलीस्थित कार्की ब्याङ्क्वेटमा आयोजित भेलाले १९ बुँदे निर्णय गर्दै सम्पन्न गरेको हो ।
त्यस्तै, नागरिक अधिकारको रुपमा रहेको विविधता, समता र समावेशी सिद्धान्तलाई पूर्णरुपमा कार्यान्वयन गर्न, लिङ्गको आधारमा कसैलाई विभेद र निरुत्साहित पार्न नपाइने नीतिलाई कडाइका साथ लागु गर्न, तालिम अध्ययन तथा वैदेशिक भ्रमणमा महिला कर्मचारीलाई प्राथमिकता दिन सरकारसंग माग गर्ने भेलाको निर्णय भएको छ ।
राजपत्रमा अंकित महिला कर्मचारीहरुलाई अनिवार्यरुपमा र राजपत्रांकित महिला कर्मचारीलाई सम्भव भएसम्म उनीहरुको माग र आवश्यकताअनुसार पायक पर्ने स्थानमा सेवा गर्ने अवसर प्रदान गर्न, महिनावारी भएको बेलामा तीन दिन बिदा दिन, वृत्ति विकारका अवसरहरुमा महिला कर्मचारीलाई विशेष प्राथमिकता दिने सरकारलाई दबाब दिने निष्कर्ष निकालेको छ ।
साथै, सरकारले प्रदान गर्ने निजामती सेवा पुरस्कार र विभूषणलाई समानुपातिक बनाउनलगायतका माग राख्ने निर्णय गरिएको छ । दुई दिने बेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न मुलुकका प्रतिनिधि, सबै जिल्लाका प्रतिनिधि लगायत हजारौंको उपस्थिति थियो ।













प्रतिक्रिया दिनुहोस्