काठमाडौं, भदौ १५
चिनियाँ ह्याकर समुहले नेपालको बैंकिङ सिस्टम ह्याक गरेका छन् । गएराति पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि स्टिम ह्याक भएको पुष्टि भएको थियो । पिन नम्बर ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा एटिएम बुथबाट उनिहरुले झिकिरहेका थिए ।
अहिले केही बैंकमा एटिएम चलेका छैनन् । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भन्नुभयो, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ ।’
प्रहरीले शनिवार साँझ चार जना चिनियाँ नागरिकलाई पाँच करोड रुपैयाँ नगदसहित पक्राउ गरेको छ। अझै केही फरार छन्। बैंकरका अनुसार, कति रकम लुटिएको भन्ने अझै टुङ्गो लागिसकेको छैन। सबै बैंकबाट तथ्याङ्क माग गरिएको छ।
स्रोतका अनुसार, शनिवार नबिल बैंकका विभिन्न एटिएम बुथहरुबाट ठूलो मात्रामा नगद झिकिएको थियो। ठूलो मात्रामा पैसा झिकिएपछि कर्मचारीहरुले के भएको रहेछ भनेर सिस्टमबाट त्यसलाई ट्र्याक गर्न थाले। उनीहरुले अस्वभाविक रुपमा पैसा झिकिएको र केही शंकास्पद गतिविधि भएको थाहापाएपछि प्रहरीलाई खबर गरेका थिए।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुबेदीका अनुसार चिनियाँ ह्याकरले बैंकका एटिएम ह्याक गरेको पुष्टि गर्नुभयो । ‘उनीहरुले शनिवार राति मात्रै अर्बौं रुपैयाँ एटिएमबाट लुट्ने योजनासहित शुक्रबार नेपाल आएका थिए,’ उहाले भन्नुभयो, हामीले समयमै ह्याकरबारे सूचना पाएपछि ठूलो रकम चोरी हुनबाट जोगिएको हो।’
केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रणालीलाई चिनियाँ गिरोहले ह्याक गरेको छ। यो प्रणालीमा १७ वटा बैंकहरु आवद्ध छन्। यसमा ११ बैंकको लगानी छ। यसले भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टरकार्ड जारी गर्नुको साथै एटिएम र पस मेसिन सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा दिँदै आएको छ।
प्रारम्भिक अनुसन्धानमा ६ वटा बैंकबाट पैसा झिकिएको फेला परेको छ। यसमध्ये २ वटा बैंकको प्रणाली नै ह्याक गरिएको छ। यस बिषयमा बैंकर्स संघको प्राविधिक समूहले क्षतिको विवरण संकलन थालेको छ। संघले कुन कुन बैंकको प्रणाली ह्याक भएको हो ? के कति रकम लुटिएको हो ? भन्ने बारे सबै बैंकसँग जानकारी माग गरेको छ। साथै शंकास्पद कारोबारका बारेमा अध्ययन गर्न पनि भनेको छ।
प्रतिक्रिया दिनुहोस्