जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार १२:४८

अनदीको चामल पाउनै मुस्किल


काटमाडौं, १५ भदौ
तीजको लामो र निराहार व्रतमा भोक नलागोस् भन्नका लागि अघिल्लो रात दर खाने प्रचलन रहिआएको छ । दरमा खाने चीज आडिलो भएमा भोलिपल्ट दिनभर नाचगानमा रमाउन सकिने भएकाले दरमा अनदीको चामलको भात ९लट्टे० खाने गरिन्छ ।

पहाडी समुदायमा लट्टे बनाउनका लागि प्रयोग गरिने अनदीको धान लगाउने प्रचलन कम हुँदै गएपछि चामलको अभाव हुन थालेको हो । पाइहालेमा पनि महँगो मूल्य तिर्नुपर्ने बाध्यता रहिआएको छ । लामो समयदेखि चामल मिल सञ्चालन गर्दै आउनुभएका उद्योग वाणिज्य सङ्घ चितवनका द्वितीय उपाध्यक्ष चिरञ्जीवी सुवेदीका अनुसार यस वर्ष अनदीको चामल प्रतिकेजी रु २२५ मा बिक्री भएको छ । आफूले प्रयोग गर्न राखेको धानबाट बढी भएर बिक्री गर्नेबाट पाएको थोरै चामल मात्र बिक्री गर्न पाएको सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “थोरै थियो, किन्न चाहनेलाई पु¥याउन सकिएन ।” हरेक वर्ष चामलको अभाव हुँदै गएको उहाँको भनाइ छ । उद्योग वाणिज्य महासङ्घका प्रदेश नं ३ का उपाध्यक्षसमेत रहनुभएका गौतम खाद्य उद्योगका सञ्चालक राजन गौतम आफ्नो मिलमा अनदीको चामल र धान बिक्री गर्न कोही नआएपछि बजारबाट खोजेर घरका लागि चामल किन्नु परेको बताउनु हुन्छ । उत्पादन कम हुने र अग्लो हुँदा हावाले ढाल्ने भएकाले धान लगाउने क्रम घटेको उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिका–११ मा रहेको वशिष्ठ तेल उद्योगका सञ्चालक कृष्ण भट्टराई चामल नपाएर बिक्री गर्न नसकेको बताउनुहुन्छ । पोखराबाट आएको चामल सकिएपछि खोज्दा पनि नपाएको उहाँको भनाइ छ । ग्राहकहरु आउने क्रम भइरहे पनि चामलको अभावमा फर्कनुपरेको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठले अनदीको धान लगाउने क्रम बर्सेनी घट्दै गएको बताउनुभयो । उन्नत जातको धान प्रतिहेक्टर छ टनसम्म फल्ने भए पनि अनदीको धान मुस्किलले दुई टन फल्ने भएकाले धेरै जमीन हुनेले घरायसी प्रयोजनबाहेक व्यावसायिक प्रयोजनका लागि लगाउन छाडेको उहाँको भनाइ छ ।

जिल्लामा २९ हजार हेक्टरमा धान लगाउने गरिन्छ । गत आर्थिक वर्षमा ९७ हजार ४४० मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क रहेको छ । चितवनमा मुस्किलले दुई प्रतिशत मात्र अनदीको धान लगाउने गरेको श्रेष्ठले जानकारी दिनुभयो । त्योमध्ये पनि धेरै थारू समुदायले चिचर बनाउन प्रयोग गरिने अनदी लगाउने गरिन्छ । लट्टेका लागि रातो अनदी प्रयोग हुन्छ भने चिचरका लागि सेतो अनदी प्रयोग हुने गर्दछ ।

श्रेष्ठले पुरानो जात भएकाले उत्पादन कम भएकै कारण कृषकले अनदीको धान लगाउन छाडेको बताउनुभयो । पछिल्ला वर्षहरुमा झण्डै एक महीनादेखि इस्टमित्र, आफन्त, साथीभाइ, कार्यालयका महिला कर्मचारीलाई दरको नाममा भोज खुवाउने प्रचलन बढेको छ । दरका लागि अनदीको चामलको माग बढेको भए पनि उत्पादन घटेपछि मूल्य आकाशिएको हो । यससँगै पुस १५ मा पनि लट्टे खाने चलन रहेको छ । अन्य चामलको तुलनामा अनदीको चामलको लट्टे कम बढ्ने भएकाले महँगो चामलको लट्टे थोरै व्यक्तिलाई धेरै आवश्यक पर्ने गर्दछ ।