जनता टाइम्स

३१ जेष्ठ २०८०, बुधबार १२:५९

ड्युटीमा खटिएका सशस्त्रका हवल्दारलाई पानीमा चोबल्दै इन्स्पेक्टरले कुटे


झापा, जेठ ३१ । झापाको मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारलाई सशस्त्रका इन्स्पेक्टरले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

हतियारधारी तथा बर्दीधारी पाँचजना हवलदारलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहितको तीनजनाको टोलीले मेची नदीको पानीमा डुबाउँदै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेको हो।

इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरीका हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवलदार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते हुनुभएको हो ।

सप्रवह तामाङ र प्रज राजवंशीको ढाडमा चोट लागेको छ भने सप्रह तामाङको शरीरभरि नीलडाम बसेको छ। त्यस्तै सप्रह कार्की र सप्रसह राईको दायाँ हातमा चोट लागेको बताइएको छ। घाइतेहरूको धुलाबारीस्थित आम्दा मेची हस्पिटलमा उपचार भइरहेको छ।

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलाले सो नाकाबाट सामान गएको भन्दै बर्दीधारी सशस्त्रका हवल्दारहरूलाई कुटपिट गरेपछि मेचीनगर नगरपालिका– ५ स्थित नकलबन्दा क्षेत्र मंगलबार राति ५ घण्टा तनावग्रस्त बनेको थियो।

बर्दीधारी सशस्त्रलाई सार्वजनिक स्थलमा निर्घात कुटपिट गरेपछि आक्रोशित बनेका त्यहाँका स्थानीयहरू सादा पोशाकका इन्स्पेक्टर राईसहित तीनै जनालाई कडा कारबाहीको माग गर्दै नाराबाजीमा उत्रिएका थिए। सोही क्रममा स्थानीयले सशस्त्रको बीएबी ३२४६ नम्बरको गाडी समेत तोडफोड गरेको बताइएको छ।