काठमाडौं, भदौ १५ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल फोनमा कुरा नगर्न निर्देशन दिनुभएको छ । मन्त्री भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका सो विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने घोषणासमेत गर्नुभएको छ ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आज उद्घाटन गर्दै मन्त्री भट्टराईले उहाँल कुनै पनि दाग लागेका कर्मचारीहरुलाई सो विमानस्थलमा नराख्ने स्पष्ट पार्नुभयो । मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्बिर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारवाही गर्न पनि विमानस्थलका नेतृत्वलाई कडा निर्देशन दिनुभयो ।
सो विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन सिसिटिभी क्यामेराको थप व्यवस्था गर्ने योजनासमेत उहाँले सुनाउनु भयो । मन्त्री भट्टराईले सो विमानस्थल मुलुकको ईज्जतसँग जोडिएकाले पनि यसका कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
मन्त्री भट्टराईले सेवाग्राहीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन सो प्रशिक्षण कार्यक्रम सुरु गरिएको मन्त्री भट्टराईले प्रष्ट पार्नुभयो । ६ दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरुको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वाससमेत उहाँको छ । प्रशिक्षण कार्यक्रममा सो विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरु सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्