सुर्खेत, असार १ । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल जाजरकोटका अध्यक्ष यज्ञराज बस्नेतले गत चैत १९ गते भेरी नगरपालिकाको एम्बुलेन्स तोडफोड गरे । जाजरकोट भेरी नगरपालिका १ कालेगाउँ बस्ने वर्ष २७ का बस्नेतले भेरी नगरपालिकाको एम्बुलेन्स तोडफोड गरेका हुन ।
संघीय सरकारका ऊर्जा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेतका दाइका छोरा बस्नेतले नगरपालिकामा पार्किङ गरेर राखेको कर्णाली प्रदेश ०२००१ झ ०११७ नम्बरको एम्बुलेन्सको सिसा फुटालेको थिए । १७ चैतको साँझ करिब ८ बजे भेरी नगरपालिकाको स्वामित्वमा रहेको एम्बुलेन्स तोडफोड भेरी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण जैसीले बताउनु भयो ।
भेरी नगरकार्यपालिकाको बैठक संचालन भइरहेको समयमा बाहिर ठेक्कासम्बन्धी केही व्यक्तिहरुको विवाद गर्दै बस्नेतले एम्बुलेन्स तोडफोड गरेका थिए । बिरामी पुर्याएर फर्किएको पार्किङका लागि राखेको एम्बुलेन्सको सिसा फुटेको थियो । सार्वजनिक सम्पत्तिमा तोडफोड भएको भन्दै तत्काल बस्नेतलाई आवश्यक क्षतिपूर्ति तिर्न नगरपालिकाले कागज गराएको थियो ।
जानाजान सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पु¥याउने उद्देश्य आफ्नो नरहेको बस्नेतले स्वीकार गरेका थिए । भुलवस अन्जानमा सार्वजनिक सम्पत्तिमा क्षति भएको भन्दै बस्नेतले क्षमा मागेका थिए । आफ्नो कारणले एम्बुलेन्समा भएको क्षतिबापतको रकम तिर्न आफू तयार रहेको समेत बताएका थिए । घटना भएको तीन महिना बितिसक्दा पनि बस्नेतले क्षतिपुर्तिबापत पैसा तिरे नतिरेको कसैलाई पनि जानकारी छैन । यता, नगरपालिकाले भने उनले पैसा तिरिसकेको दाबी गरेको छ ।
पैसा तिरेको हाकिमलाई समेत थाहा छैन
भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जैसीले वाईसीएल जाजरकोटका अध्यक्ष बस्नेतले नगरपालिकाको एम्बुलेन्स तोडफोड गरेको आफूलाई जानकारी भएको र क्षतिपुर्तिबापत रकम तिरेको भने कुनै पनि जानकारी नभएको बताउनु भयो । उहाँले रकम तिर्छु भनि कागज गरेको तर आफुलाई पैसा तिरेको कुनै पनि जानकारी नभएको बताउनु भयो । ‘एम्बुलेन्स तोडफोड गरेको स्वीकार गर्दै पैसा तिर्छु भनी कागज समेत गर्नुभएको थियो’ उहाँले भन्नुभयो, ‘तर के गर्नुभयो त्यो मलाई केही जानकारी भएन, एम्बुलेन्स मर्मत भइसक्यो सायद तिर्नुभयो होला ।’
यस्तै नगरपालिका राजश्व शाखा प्रमुख प्रकाश बटालाले पनि पैसा तिरे नतिरेको आफूलाई कुनै पनि जानकारी नभएको बताउनु भयो । ’तिर्छु भन्नुभएको थियो तर के गर्नुभयो मलाई केही जानकारी भएन,’ उहाँले भन्नुभयोे । यस्तै, वाइसियलका अध्यक्ष बस्नेतलाई सम्पर्क गरी यस विषयमा बुझ्न खोज्दा उहाँले कुनै पनि जवाफ दिन चाहनु भएन । ‘गएको कुरा किन गर्नुपर्यो, मैले जानी जानी तोडफोड गरेको हो र ? जे भइसक्यो भइसक्यो । तपाइँलाई के भयो भन्दै उल्टै बस्नेतले राम्रोसँग पत्रकारिता गर्न धम्की दिनुभएको छ ।

रकम तिरिसक्नुभयो भरपाइ बनाएन गल्ती भयो : जिन्सी प्रमुख थापा
भेरी नगरपालिका जिन्सी शाखा प्रमुख कृर्तिबहादुर थापाले बस्नेतले क्षतिपुर्तीबापत ५ हजार ५ सय रुपैयाँ तिरिसकेको बताउनु भयो । उहाँले एम्बुलेन्सको सिसा फुटाएको एक हप्तापछि कार्यालयमा आएर पैसा बुझाएको जानकारी दिनुभयो । ‘हामीले गाडी कला मोटर पाटर्स नेपालगञ्जमा बनाएका थियौँ, गाडी बनाएबापतको रकम ५ हजार ५ सय मैले मेरो खाताबाट हालेको थिएँ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि उहाँ कार्यालयमै आएर मलाई ५ हजार ५ सय रुपैयाँ दिनुभयो । तर, मैले बिल भरपाई केही पनि बनाएन, गल्ती भयो ।’
थापाको कुरालाई आधार मान्दा बस्नेतले तिरेको पैसा थापाले व्यक्तिगत खर्च चलाएको बुझिएको छ । सरकारी राजश्व सरकारको खातामा दाखिला गर्नुपर्ने कानुनी प्रावधान छ । तर, भेरी नगरपालिका कर्मचारी व्यक्तिगत खातामा पैसा असुली गर्दै आएका छन । नगरपालिकाका राजश्व प्रमुख र स्टोर प्रमुख थापाले व्यक्तिगत खातामा पैसा लिएर व्यक्तिगत खर्च चलाउने गरेको स्रोतले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्