जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार १७:०८

अमेरिकाले लगायो चिनियाँ सामानमा नयाँ कर


बासिङ्टन डिसी, भदौ १५ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाव दिने उद्देश्यले संयुक्त राज्य अमेरिकाले आजदेखि लागू हुनेगरी चिनियाँ सामानको आयातमा नयाँ करहरु लागू भएको घोषणा गरेको छ । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार यो घोषणासँगै करिब ३ सय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा अतिरिक्त १५ प्रतिशत कर वृद्धि हुनेछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार यसअघि गरिएको घोषणा नै कार्यान्वयनमा ल्याउने र त्यसलाई ढिलाई गर्न नसकिने बताएका हुन् । उनले भनेका थिए, ‘घोषित करवृद्धि लागू हुन्छ, यो रोकिँदैन ।’ नयाँ करहरु खाद्य सामग्री, खेलकूदका सामान, संगीत सामग्री र फर्निचर समेतका दैनिक उपभोगका सामानमा करवृद्धि गरिएको छ । वासिङ्टनस्थित पिटर्सन अन्तर्राष्ट्रिय आर्थिक इन्स्टिच्यूटका अर्थशास्त्रीहरुले अमेरिकाको पछिल्लो कदमले करिब एक सय १२ अर्ब अमेरिकी डलर बराबरका सामानमा असर पार्नेछ ।

चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेका थिए । अमेरिकातर्फ निकासी हुने कूल ५४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा करवृद्धि हुनेछ । ट्रम्पको घोषणापछि यसै महिनाको सुरुमा बेइजिङले पनि अमेरिकी सामानमा करवृद्धि गरेको थियो ।

सेप्टेम्बर १ देखि लागू हुनेगरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो । सयौं अमेरिकी कम्पनी र व्यवसायिक समूहहरुले नयाँ कर घोषणा नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए । उनीहरुको विचारमा करवृद्धिले रोजगारी गुम्ने र उपभोक्ताले खरिद गर्ने सामान महंगो हुने भन्दै चिन्ता व्यक्त गरेका थिए । तर शुक्रबार राष्ट्रपति ट्रम्पले चुनावी प्रचारका क्रममा सामानको मूल्य बढ्छ भनेर चिन्ता गर्ने अमेरिकी कम्पनी र व्यवसायीमा दृष्टिदोष रहेको बताए । ‘राम्रोसँग नचलेका र कमजोर कम्पनीले मात्र यस्ता कुरा गरिरहेका छन्,’ उनले भने, ‘उनीहरुको व्यवस्थापन पनि कमजोर छ ।’

चिनियाँ सामानमा करवृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले करवृद्धि सँगै चीनसँग वार्ता पनि हुँदै जाने बताए । ‘हामी चीनसँग कुराकानी गरिरहेका छौं । वार्ताका लागि मिति तोकिएको छ,’ उनले भने, ‘एकअर्काबीच फोनमा संवाद भएका छन् । मेरो विचारमा सेप्टेम्बरमा वार्ता हुनेछ । वार्ताहरु रद्द भएका छैनन् । हेरौं के हुन्छ ।’ राष्ट्रपतिले व्यापार युद्ध मार्च २०१८ मा आरम्भ गरेका थिए । उनले चीनमाथि अस्वस्थ व्यापार रोक्न, अमेरिकी कम्पनीबाट जबर्जस्ती प्रविधि हस्तान्तरण गर्ने प्रावधान हटाउन तथा चिनियाँ कम्पनीलाई सरकारले दिने सरकारी अनुदान रोक्न दबाव दिइरहेका छन् ।

चिनियाँ पक्षले व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेको भने पनि कुनै सम्झौता भएको छैन । अमेरिकी कूल गार्हस्थ्य उत्पादनमा उपभोग्य वस्तुले ७५ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । रासस