जनता टाइम्स

१६ भाद्र २०७६, सोमबार ०८:२९

आज हरितालिका तिज, नाचगान र पूजा उपासना गरेर मनाईंदै, पशुपतिनाथ मन्दिरमा पुगेका भक्तजनका लागि चारवटा मार्गको व्यवस्था


काठमाडौं, १६ भदौ  । आज भाद्र शुक्ल तृतिया अर्थात, हरितालिका तीज । आज हिन्दू महिलाहरु निराहार व्रत बसी श्रद्धापूर्वक शिवको पूजा गर्दछन् ।
काठमाडौंको पशुपति, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, काभ्रेको सागालगायत महादेवका मन्दिरहरुमा श्रद्धालु महिलाहरुको विहानैदेखि भीड लागेको छ ।

पशुपतिनाथ मन्दिरमा लाइन बसेको ३० मिनेटमै दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले दावी गरेको छ । तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सुस्वास्थ्य र दिर्घायू हुने तथा अविवाहित युवतिहरुले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।तीजको दिन निराहार व्रत बस्नुपर्ने भएकाले ब्रतालु महिलाहरुले अघिल्लो दिनको मध्यरातमै मिठा परिकार बनाएर दर खाएका थिए ।

पूजाआजा सकेपछि तीजका गीतमा नाचगान गर्ने चलन छ । तीज पर्वलाई महिलाहरुको मनको वह पोख्ने अवसरको रुपमा लिने गरिन्छ । पछिल्लो समयमा भने अधिकारकर्मीहरुले महिला अधिकारको लडाईंको रुपमा तीजलाई व्याख्या गरेकाछन् ।

दाजुभाइले दिदीबहिनीलाई बोलाएर दर खुवाउने गर्छन् । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् ।

तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्ने चलन छ । पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको भन्दै सस्कृतिविदले चिन्ता ब्यक्त गर्ने गरेका छन् ।

आज पशुपतिनाथ मन्दिरमा पुगेका भक्तजनका लागि आज चारवटा मार्गको व्यवस्था गरिएको छ । दर्शनार्थीले छिटो मन्दिरमा दर्शन गर्न सकुन् भनेर बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन् ।

२०६५ सालदेखि भक्तजनका लागि बन्द गरिएको पूर्वी ढोका पनि खोलिएको पशुपति विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले बताउनुभयो ।

भक्तजनले बढिमा दुई घण्टाभित्र दर्शन गरी फर्कन सक्ने कोषले दाबी गरेको छ । मन्दिरमा महँगा गहना लगाएर नआउन र साना बालबालिका पनि नल्याउन भक्तजनलाई कोषले आग्रह गरेको छ ।

गाडी पार्किङका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ । अहिले कुनै पनि गाडीको बाटो परिवर्तन नगरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।