काठमाडौं, १३ असार । कुनै समय काठमाडौंमा कुख्यात ‘डन रमेश बाहुन’ अब अपराधको दुनियाँबाट सामान्य नागरिक भएर खुला आकासमा विचरण गर्ने हुनुभएको छ् । लामो जेल सजाय भुक्तान गरेर केही दिनअघि मात्र रिहा हुनुभएका उहाँले अब आफ्नो विगत नकोट्याइ दिन सार्वजनिकरूपमा अपील गर्नुभएको छ ।
विगतमा जेजस्ता काम गरे पनि त्यसको सजाय भुक्तान गरेको र त्यही आफ्नो प्रायश्चित पनि भएको बताउदै उहाँले अब आफूले नयाँ जीवन जिउन चाहेको बताउनुभएको छ । राज्यको कानुनअनुसारको जेल सजाय भुक्तान गरेर खुला आकासमा निश्कदासमेत केही सञ्चारमाध्यमले विगत कोट्याएर आरोपित गर्दा दुःख लागेको बताउँदै उहाँले आफ्नो विगत ‘रमेश बाहुन भए पनि आगत सुजन पौडेल भएको घोषणा गर्नु भएको छ ।
उहाँले बुधबार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ – ‘ राज्यले दिएको सजाय भुक्तानगरी म दुई महिनाअघि खुला संसारमा आएको छु । विगतमा मैले जे जस्ता आरोपहरु खेपे, त्यसको सजाय पनि मलाई राज्यले दिइसक्यो, मैले भोगिसके । सजाय भोग्नु भनेका, नियम कानुन मान्नु भनेको फेरी विग्रनु वा पुरानो आरोपलाई बल पुग्नेगरी काम गर्नु होइन । यो १० ÷११ वर्षमा मलाई जे जस्ता आरोप लाग्यो , लगाइयो र कानुनले सजायको भागिदार बनायो यसप्रति मेरो कुनै गुनासो छैन । ९ वर्ष दुई महिना जेल जीवनका क्रममा यी पुराना कुराहरु सबै विर्सेर म नयाँ जीवन जिउन यो खुला समाजमा आएको छु । होला, विगतमा केही कमी कमजोरी भए होलान त्यसमा मेरो भन्नु केही छैन । तर एउटा मानिस जो, विगतका कुरा, व्यवहार र आचारणलाई विर्सेर नयाँ परिवेशमा सामाजिक जीवन बाँच्न चाहन्छ भने उसलाई फेरी पनि विभिन्न झूठा लाल्छान लगाउने,पुरानै बाटोमा गयो भनेर विना आधार समाचारहरु सम्प्रेषण गर्ने, गर्न लगाउने र पुरानै बाटोमा धकेल्न खोज्नु अर्को अपराध हो ।’
आफू जेलबाट मुक्त भएपछि दुई महिनादेखि घर परिवारको साथमा रहेको जानकारी दिदैं उहाँले ‘अहिले विशुद्ध पारिवारिक जीवन विताइरहेको छु । नातागोता, आफन्तहरुको सल्लाह सुझावलाई शिरोधार्य गरिरहेको छु । सबैले विगतलाई सम्झनु हुन्न, सामाजिक काम लाग्नुपर्छ भनेर सल्लाह दिइरहनु भएको छ । म त्यसलाई पालाना गर्ने गरी कार्ययोजना बनाउदै छु । तर विगत केही दिन यता विभिन्न सञ्चारमाध्यमहरुमा मेरो नाममा जे जस्ता अर्नगल प्रचारबाजी भएका छन् त्यसलाई मलाई चोट पुर्याएको छ’ भन्नुभएको छ ।
जेलबाट निस्केपछि आफूले जेलभित्र रहेका कोही कसैलाई सम्पर्क गर्ने, कोहीप्रति वैरभाव राख्ने वा कोही कसैको काम गरिदिन्छु भन्ने र गलत कामका लागि आर्थिक लाभ लिने जस्ता अनावश्यक गैरकानुनी हर्कत काम नगरेको दावी गर्दै उहाँले त्यस्ता हर्कत अब आफूबाट कहिल्यै नहुने बताउनुहुन्छ । जेलहरू सुधारगृहजस्ता भएनन् यातनागृहजस्ता भएको उहाँको आरोप छ । सुधारका कुरा गर्दा आफूलाई जेलभित्रै आन्तरिक प्रशासनमा हस्तक्षेप गरेको गुट बनाएको आरोप लगाइयो यो कुरा जहाँ गएर पनि बोल्न सक्ने उहाँ बताउनुहुन्छ ।
जारी विज्ञप्तिको अन्त्यमा उहाँले भन्नुभएको छ ‘ कारागारको सजाय भोग्नु भनेको थप अपराधी बन्नु, अपराधीका लागि योग्यता पुग्नु होइन, त्यो सुधारगृह हो, एउटा व्यक्ति कानुन पालाना गरेर न्यायलयको आदेश पालाना गरेर नयाँ जीवनमा फर्केको छ । हिजो अवस्थातिर ध्यान नदिई नयाँ जीवनका लागि तयार भएको एउटा मानिसलाई असल नागरिक बनाउने र असल बाटोमा हिडाउन सञ्चार जगतको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ । त्यसकारण मेरो अपील यति मात्रै हो– विगतको ‘रमेश बाहुन’ होइन मेरो आगत ‘सुजन पौडेल’ हो । अब सुजन पौडेल सामाजिक क्षेत्रमा क्रियाशील हुन्छ । विगतलाई ९ वर्ष २ महिनाको कारागार बसाईले विर्साइदिए ।













प्रतिक्रिया दिनुहोस्