काठमाडौं, भदौ १६ । दुई करोड चन्दा नदिए ज्यान मार्ने धम्की दिएको भन्दै रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्काले आफ्नै उपाध्यक्षसहित ५ जनाविरुद्ध किटानी जाहेरी दिनुभएको छ । अध्यक्ष खडकाको किटानी जाहेरीपछि जिल्ला सरकारी वकिलको कार्यालयले आइतवार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अध्यक्ष खड्काको जाहेरीले मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को दफा ३२ बमोजिम उपाध्यक्ष दिपशिखा न्यौपाने दाहाल, वडा नं ७ का बडाध्यक्ष सुवास बोहोरा, नेकपाका नेता संजीव कार्की, लोप्सन भन्ने बाबुराम तामाङ र अमृत तामाङलाई ७ वर्ष कैद र ७० हजार जरिवाना माग दाबीसहित जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।
खड्काले प्रतिवादी बनाएकामध्ये लोप्सन भन्ने बाबुराम तामाङ र अमृत तामाङलाई साउन २४ गते प्रहरीले काठमाडौंको स्वयम्भुबाट गोली हानी नियन्त्रणमा लिएको थियो । सादा पोसाकका प्रहरीले नियन्त्रण लिन खोज्दा भाग्न लागेपछि प्रहरीले चलाएको गोली तामाङको घुँडामा लागेको थियो । उनको प्रहरी नियन्त्रणमा उपचार भइरहेको छ । जबरजस्ती चन्दा माग्ने प्रतिवादी बनाइएकी उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोराले बाबुराम तामाङलाई प्रयोग गरी आफूबाट २ करोड माग गर्न लगाएको र नदिए आफू र परिवारका सदस्यलाई मार्ने सम्मको धक्की दिएको आरोप खड्काले लगाउँदै आउनुभएको छ ।
किटानी जाहेरीमा नाम नपरेका नेकपाका नेता कार्की समेत प्रहरीको अनुसन्धानबाट दोषी देखिएकाले उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको प्रहरीले जनाएको छ । तर उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोराले उक्त आरोप पुष्टि गर्न चुनौति दिदै खड्कालाई पैसा मागेर धम्क्याउने कार्यमा आफ्नो कुनै सम्लग्नता नभएको प्रष्ट पार्नुभएको थियो । आरोप लगाइएको सवैले विकास निर्माणका कुरामा पारदर्शिता खोज्दा अध्यक्षबाट झुटा अभियोग लगाएको दावी गरेका छन ।
लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँमा विद्युतीकरण गर्दा लागेको खर्च भन्दै अध्यक्ष खड्काले चालु आर्थिक वर्षको बजेट विनियोजन गर्दा ६ करोड ९५ लाख रुपैया माग गरेपछि अनुगमन समितिकी संयोजकसमेत रहनुभएकी उपाध्यक्ष दाहाल र वडा अध्यक्षहरुले उक्त प्रस्ताव अस्वीकार गर्नुभएको थियो । बत्ति बलिसकेकाले योजना अनुगमन गरी लागेको पैसा विनियोजन गर्ने अडान अध्यक्षलाई स्वीकार्य नभएपछि कार्यपालिकाको बैठकमा झगडा भएको थियो । विवादका कारण असारमै पारित गर्नुपर्ने गाउँपालिकाको बजेट अझैसम्म पारित हुन सकेको छैन ।
अध्यक्ष र उपाध्यक्षबीच झगडा भएपछि एक महिनायता गाउँपालिकाको सबै काम ठप्प छ । प्रमुख प्रशासकीय अधिकृत समेत लामो तालिममा हिडेका छन् । जनप्रतिनिधिहरु मुद्दा–मामिलामा लागेपछि काम प्रभावित भएका हो । प्रहरीले अभियुक्त पक्राउ गरेलगत्तै खडकाले वडाअध्यक्ष बोहोराले सो काम गर्न लगाएको आरोपल गाउनु भएको थियो ।
यता खडकाले किटानी जाहेरी दिएपछि नेकपा लिखु तामाकोशी गाउँपालिका कमिटीले खडकालाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कार्वाहीका लागि जिल्ला कमिटीमा सिफारिश गरेको छ । जिल्ला कमिटीले प्रदेश कमिटीमा कार्वाहीको लागि सिफारिश गरेको भएपनि निर्णय सार्वजनिक भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्