जनता टाइम्स

१८ असार २०८०, सोमबार १५:१०

महिलालाई आत्मनिर्भर बनाउन बजेटले ध्यान दिएन : भगवती न्यौपाने


काठमाडौं, १८ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभाकी सांसद भगवती न्यौपानेले महिलालाई आत्मनिर्भर बनाउन बजेटले ध्यान नदिएको आरोप लगाउनुभएको छ ।

आज बसेको राष्ट्रिय सभा बैठकमा भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले महिलाहरुलाई आत्मनिर्भर बनाउने कुरामा बजेटले ध्यान दिन नसकेको आरोप लगाउनुभएको हो ।

सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’का लागि पर्याप्त बजेटको व्यवस्था नगरेको भन्दै उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको चालु आर्थिक वर्षको पुँजीगत खर्च १० प्रतिशत भन्दा बढि हुन नसकेकोप्रति सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो ।