जनता टाइम्स

२१ असार २०८०, बिहीबार १९:१४

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त


काठमाडौं, २१ असार । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस (२९), नेकपा माओवादी केन्द्र (१३ सभामुखसहित), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बन्नुभएको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । झापा अर्जुनधारा नगरपालिकाको शनिश्चरेका बासिन्दा थापा २०७९ मंसिरको प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बन्नुभएको थियो । उहाँ अहिले नेपाली कांग्रेसको कोशी प्रदेश सभापतिसमेत हुनुहुन्छ । सत्ताबाट एमाले बहिर्गमित भएको हो ।