जनता टाइम्स

२२ असार २०८०, शुक्रबार १७:५६

मेलम्चीबजारस्थित ईन्द्रावती खोलामा बेलीवृज सञ्जालन


काठमाडौं, असार २२ । सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित ईन्द्रावती खोलामा नेपाली सेनाले निर्माण गरेको नवनिर्मित बेलीवृजको उदघाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत र प्रधान सेनापति प्रभुराम शर्माले आज एक समारोहबीच बेलिबृजको उदघाटन गर्नुभएको हो ।

२०७८ श्रावणमा परेको भारी वर्षाका कारण ईन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारदेखि ईन्द्रावती नगरपालिका, पाँचपोखरी गाउँपालिका र जिल्ला सदरमुकाम जोड्ने ज्ञण्द्ध मिटर लामो कम्पोजिट वृज बगाए पश्चात उक्त ईलाकामा बसोवास गर्ने स्थानीयवासीलाई आवतजावतमा कठिनाई भएको थियो ।

गत जेष्ठ २१ गते नेपाली सेनालाई जिम्मेवारी प्राप्त भए अनुरुप सो स्थानमा बेलीवृज निर्माण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नवनिर्मित बेलीवृजको लम्बाई ६७.७० मिटर, चौडाई ४.२ मिटर तथा अधिकतम भारवहन क्षमता १८ टन रहेको छ ।

उदघाटन कार्यक्रममा बागमती प्रदेश सभाका सभासद कृष्ण कुमार तामाङ्ग लगायतका जनप्रतिनिधिहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, जिल्लास्थित सरकारी निकायका प्रमुख र प्रतिनिधिहरु तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।