जनता टाइम्स

२६ असार २०८०, मंगलवार १७:०९

अदालतको बदमासी : लगातार तेस्रो दिन ‘हेर्न नभ्याइने’ सूचीमा कोशी सरकारविरुद्धको रिट


विराटनगर, असार २६ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट लगातार तेस्रो दिन ’हेर्न नभ्याइने’सूचीमा राखिएको छ । आइतवारदेखि सुरु भएको रिटमाथिको पेशी आज तेस्रो दिन पनि हेर्न नभ्याइने सूचीमा राखिएको हो ।

आज रिटको पेशी न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको थियो । यसअघि आइतबार र सोमबार सो मुद्दाको सुनवाइका लागि पेशी तोकिए पनि ’हेर्न नभ्याइने’सूचिमा राखिएको थियो। आइतबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासमा र सोमबार सुष्मालता माथेको एकल इजलासमा पेशी तोकिएको थियो।

कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले) ले गत शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएको थियो । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले रिट दिनुभएको हो ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले गत बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमालेले सर्वोच्चमा रिट दिएको हो । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङग, मुख्यमन्त्री थापा, सभामुख गौतमलाई प्रतिवादी बनाइएको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका २९,नेकपा (माओवादी केन्द्र) का १२, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) का १ जना प्रदेशसभा सदस्य तथा सभामुख बाबुराम गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।