जनता टाइम्स

२ श्रावण २०८०, मंगलवार ११:४३

कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा


भोजपुर, २ साउन । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरू यहीँ नै उद्यममा जुटेका हुन् ।

विदेशबाट फर्केर टेम्केमैयुङका युवा प्रेम बस्नेतले व्यावसायिकरूपमा बाख्रापालनसँगै विभिन्न उद्यम गर्दै आउनुभएको छ । व्यावसायिक भएर काम गर्दा आनन्द हुने उहाँको भनाइ छ । ‘विदशमा धेरै नै दुःख छ’, उहाँले भन्नुभयो,‘यहाँ दुःख गरेको सबैले देख्छन् । तर विदेशमा गरेको दुःख अरुले नदेख्ने मात्र हो । त्यहाँ गर्ने दुःख यहाँ गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन ।’ राज्यको तर्फबाट सञ्चालन भएका विभिन्न कार्यक्रमले युवालाई व्यवसायमा लाग्न हौसला मिलेको उहाँको भनाइ छ ।

विदेशमा यहाँबाट सोचेर गएजस्तो सहज नहुने बस्नेतको भनाइ छ । व्यावसायिक भएर आफ्नै ठाउँमा काम गर्ने हो भने त्यहाँको भन्दा दोब्बर आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । ‘यहाँ सोचेजस्तो विदेशमा सहज छैन’, उहाँले भन्नुभयो,‘त्यहाँको दुःख सहन नसकेर करिब नौ महिना बिताएपछि यहाँ आएर व्यवसायमा लागेको हुँ । अहिले परिवारसँग बसेर राम्रो आम्दानी गरिरहेको छु ।’ विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिकरूपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताउनुभयो ।

उहाँले व्यवसायबाट वर्षमा रु तीनदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । ‘विदेशमा लामो समय बिताएँ । सोचेजस्तो आम्दानी गर्न सकिनँ’, उहाँले भन्नुभयो,‘अहिले व्यावसायिकरूपमा जडीबुटीको खेती गरिरहेको छु । परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु ।’ विदेशबाट फर्केर स्थानीय गुणराज राउतले व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । विदेशमा १५ वर्ष बिताउनुभएका उहाँ अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लाग्नुभएको हो ।

‘विदेशका तीन देशमा गरेर १५ वर्ष पसिना बगाएँ’, उहाँले भन्नुभयो, ‘धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिनँ । त्यहाँ पाएको दुःखलाई सम्झेर अहिले आफ्नै ठाउँमा व्यावसायिकरूपमा बाख्रापालनमा लागेको छु । बाख्रापालनबाट यही राम्रो आम्दानी गरिरहेको छु ।’ विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ । मानिसहरूले विदेशमा बगाउने पसिना यहीँ बगाए देशलाई पनि योगदान पुग्ने स्थानीय राउतको भनाइ छ ।

‘ठूलो सपना देखेर विदेश गएँ’, उहाँले भन्नुभयो, ‘विदेश जानु पहिला यहीँ व्यावसायिक कृषिमा लागेको भए हुनेरहेछ । अहिले पछुताएको छु । योजनाबद्धरूपमा व्यवसाय गर्न सके यहाँ नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।’ बाख्रापालनसँगै आफूले जडीबुटीकोसमेत व्यावसायिक खेती गरिरहेको उहाँको भनाइ छ । बाख्रालाई विभिन्न समयमा लाग्ने रोगको भने समस्या रहेको राउतको भनाइ छ । कृषकलाई व्यावसायिकरूपमा बाख्रापालनको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।

ग्रामीण भेगमा पशु चिकित्सकको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उहाँले बताउनुभयो । टेम्केमैयुङ गाउँपालिका एकराज विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक किवी तथा एभोकाडोको खेती गरिरहेको बताउनुभयो । गत वर्षबाट खेती सुरु गरेकाले अबको केही वर्षमा वार्षिक रु छदेखि आठ लाखसम्म आम्दानी लिने लक्ष्य रहेको कृषक उहाँको भनाइ छ । ‘हामीभित्र स्वदेशमा नै मेहनत गर्ने बानी हराउँदै गएको छ’, उहाँले भन्नुभयो,‘विदेशमा जस्तो पनि काम गर्न पछि नपर्ने हामी यहाँचाहिँ दुःख गर्न हिनतावोध गर्छौँ । अब हामी युवा यही नै केही गर्न आवश्यक छ । विदेशमा दुःख पाएपछि मात्र आफ्नो ठाउँ सम्झिने हाम्रो बानी छ ।’

युवाहरूले विदेश जानभन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्न सके जीवन गुजारा गर्न समस्या नरहेको उहाँको भनाइ छ । विदेश पुगेपछि स्वदेशमा आम्दानी गर्न सकिने धेरै विकल्प देखेपछि नेपाल फर्केर आएर व्यावसायिकरूपमा काम सुरु गरेको उहाँले बताउनुभयो । ‘व्यावसायिकरूपमा फलफूल खेतीमा लागेको छु’, उहाँले भन्नुभयो,‘गत वर्षबाट खेती विस्तार गरेको छु । अबको केही समयबाट वार्षिक रु छदेखि आठ लाख आम्दानी लिने लक्ष्य लिएको छु ।’ विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमा परिवारसँग बसेर कृषिबाट राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ ।