काठमाडौं, ५ साउन । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतविरुद्ध गृहमन्त्री श्रेष्ठको सचिवालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणबारे गलत अफवाह फैलाएको दाबीसहित उजुरी दर्ता गरेको थियो ।
महासंघका सचिव गोविन्दप्रसाद चौलागाईले आज एक विज्ञप्ति जारी गर्दै बस्नेतको अभिव्यक्तिविरूद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको उल्लेख गर्नुभएको छ ।
महासंघले बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लिन गृहप्रशासन समक्ष माग गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भई पक्राउ गरिएको घटनालाई लिएर समाचार स्रोतले गरेको दाबीका कुरालाई उजागर गर्नुभएको थियो । साथै, महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न समेत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्