सुनसरी, साउन ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आयोजित धार्मिक पदयात्रामा सहभागी भएका छन् ।
हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भन्दै साउनको दोस्रो सोमबार धरानमा आयोजित पदयात्रापछि बोल्दै अध्यक्ष लिङ्देनले साउन महिनादेखि शुरु हुने गरी पार्टीले नविन राप्रपा कार्ययोजना लागू गरेको बताउँदै यस योजना कार्यान्वयनका लागि देशका सबै स्थानीय तहमा ९०० जना नेताहरू परिचालित भएको बताउनु भयो ।
‘मेरो कार्यक्षेत्र धरान उपमहानगरपालिका परेको छ, आजैबाट कार्य प्रारम्भ गरेको छु,’ उहाँले भन्नुभयो । उहाँले संगठनात्मक कार्ययोजना शुरु गर्ने क्रममा धरान उपमहानगरपालिका वडा नं १४को विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा धार्मिक गतिविधिमा सहभागी भएको समेत बताउनु भयो।
लिङ्देनले ०६२/०६३ को राजनीतिक परिवर्तनपछि जनचाहनाविपरीत, बहुसंख्यक जनताको भावनाविपरीत जबर्जस्ती धर्मनिरपेक्षता कायम गर्दाको दुष्परिणाम देशमा यतिबेला देखिन थालेको बताउनु भयो ।
धर्म निरपेक्षताले देशको दीर्घकालीन हित असम्भव छ, नेपालको स्वतन्त्रता, पहिचान, एकता, सामाजिक सदभावका लागि हिन्दुराष्ट्र अपरिहार्य छ, धर्म निरपेक्षले देश बर्बाद पार्ने देखेर नै आफू किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्रको वकालत गरिरहेको लिङ्देनले बताउनु भयो। उहाँले धर्म निरपेक्षताको आडमा भइरहेको अवाञ्छित गतिविधि नियन्त्रण गरिनुपर्ने बताउनु भएको छ ।
लिङ्देन नेतृत्वको पदयात्रा पिण्डेश्वर मन्दिर, विजयपुरमा रहेका दन्तकाली, बुढाुब्बा मन्दिरमा समेत पुगेको थियो । सो अवसरमा राप्रपाका कार्यकर्ता, विभिन्न धार्मिक संघसंस्था र धर्मप्रति आस्था राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्