जनता टाइम्स

१२ श्रावण २०८०, शुक्रबार १४:२२

मंगलबारसम्म कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न आह्वान


काठमाडौं, १२ साउन । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले आउँदो मंगलबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेशसभा प्रतिनिधित्व गर्न दल र तिनका सदस्यलाई आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले बिहीबार बदर गरेपछि आज प्रदेश प्रमुख खापुङ्गले १६ साउन मंगलबार बेलुका ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठन गर्न दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

विश्वास मत प्राप्त गर्न नसकेपछि एमालेका हिक्मत कार्की अल्पमतमा परेसँगै मुख्यमन्त्रीमा दाबी गर्न आह्वान भएपछि सभामुखको हस्ताक्षरसहित कांग्रेसका उद्धव थापाले दाबी पेस गरेका थिए । त्यसपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरियो ।

सो नियुक्तिविरुद्ध कार्की सर्वोच्च अदालत गएका थिए । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्नेसहितको परमादेश जारी गरेको थियो । यसपछि कार्की पुनः कामचलाउ प्रदेश सरकारको मुख्यमन्त्रीमा पदस्थापन हुने भएका छन् । साथै प्रदेश प्रमुख खापुङ्गको दाबी पेस गर्न गरेको आह्वानले कोशी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ ।