जनता टाइम्स

१४ श्रावण २०८०, आईतवार १९:३२

रियालिटी शो ‘महागफाडी’ को औपचारिक निर्माण घोषणा


काठमाडौं, १४ साउन । रियालिटी शो ‘महागफाडी’ निर्माण घोषणा गरिएको छ । टाढापोटी फिल्मस् प्रालिले आज राजधानिमा एक कार्यक्रमकाबीच शो आयोजना गरिने घोषणा गरेको हो । बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरुका लागि एउटा गलिलो प्लेटफर्म उपलब्ध गराउने शोको उद्देश्य रहेको शोका निर्देशक नरेशनाथ योगीले बताउनुभयो । टेलिभिजन रियालिटी शोको रुपमा तयार हुने शोमा विश्वका जुनै कुनामा छरिएर रहेका नेपाली भाषी नेपाली नागरिकले सहभागिता जनाउँन सक्नेछन् । सहभागीले अडिसन आफ्नो मातृभाषामा पनि दिन पाउँनेछन् ।

कार्यक्रममा सहभागीले आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानमार्फत आफूलाई महागफाडीको दाबेदारको रुपमा प्रस्तुत गर्नेछन् । सहभागीका लागि आयोजकले अनलाइन अडिशन खुल्ला गरेको छ । अडिशनमा छनोट भएका सर्वोत्कृष्ट १८ जनाबाट मुख्य उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिंखडा, बुद्धि तामाङ र अभिनेत्री लुनिभा तुलाधर शोको निर्णयमा रहेका छन् । कार्यक्रमको होष्ट कलाकार कामेश्वर चौरसियाले गर्नेछन् ।

शोका विजेताले नगद १५ लाख र सवारी साधन, द्वितीय हुनेले नगद १० लाख र सवारी साधन तथा तृतीय हुनेले नगद ५ लाख र सवारी साधन उपहारको रुपमा प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ। त्यसैगरि चौथो र पाँचौं स्थान हासिल गर्नेले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोगको भनाइ छ । फाइनल अष्ट्रेलियामा हुने कार्यक्रममा टेलिभिजनमा भने १६ हप्तासम्म चल्ने छ । कार्यक्रम अवधिभर प्रतियोगीहरुले कुनै भाषा, लैंगिक, समुदाय, जातजाती, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने प्रस्तुति भने राख्न पाउने छैनन् ।