सिरहा, १५ साउन । धगढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन गरेको लोकसेवा तयारी कक्षामा व्यापक अनियमितता भएको खबरहरू सार्वजनिक भइरहेकै बेला अनियमिता पुष्टि गर्ने प्रमाणहरू फेला परेका छन् । नगरक्षेत्रका एक सय ३० जना विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरेको नायव सुब्बा र खरिदारको लोकसेवा तयारी कक्षामा व्यापक अनियमितता भएको नगरपालिकाबाट प्राप्त काजगातहरूले नै पुष्टि भएको हो ।
लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने जिम्मा पाएको गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजि प्रा.लि.विराटनगरले पेस गरेको आर्थिक प्रस्तावनामा विनियोजित रकम खर्च गर्नकै लागि एउटै तालिममा ‘तालिम संयोजक र प्रोग्राम कोर्डिनेटर’ देखाएर रकम भुक्तानी लिएको छ । एक महिने तालिममा तीन लाख ६० हजारको फोटोकपीमा खर्च गरी व्यापक अनियमितता गरिएको स्थानीयहरू बताउँछन् ।
लोकसेवा तयारी कक्षा सञ्चालनको लागि पाँचवटा संस्थाले प्रस्ताव पेस गरेको मौखिक रुपमा भनेपनि स्थानीयले सूचनामाँग गर्दा तीनवटामात्र आर्थिक प्रस्तावना उपलब्ध गराएको छ । तीनैवटा खार्थिक प्रस्तावना हेर्दा एउटै व्यक्तिले बनाएको भन्ने स्पष्ट हुन्छ। तीनवटै आर्थिक प्रस्तावको क्रम संख्या, शीर्षक र उल्लेखित रकम एकै प्रकारको छ । ‘सञ्चार, कार्यालय तथा व्यवस्थापन खर्च’ शीर्षकमा मात्र रकम तलमाथि पारिएको छ । यस शीर्षकमा योजनाको जिम्मा पाउने गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ प्रालिले सबैभन्दा कम ३१ हजार प्रस्ताव गरेको छ भने अन्य दुईले ४५ हजार र ९० हजार उल्लेख छ । यसले सामान्य व्यक्तिले पनि मिलेमतोमा काम भएको प्रष्ट देखाउँछ,’ स्थानीय योगेश सिंहले बताउनुभयो ।
तयारी कक्षा संञ्चालन गर्ने जिम्मा पाएको संस्थाले प्रमुख प्रशिक्षक खर्च दैनिक १२ हजारका दरले ३० दिनको तीन लाख ६० हजार, सहायक प्रशिक्षकको दैनिक ४ हजारको दरले ३० दिनको एक लाख २० हजार, किताव एक हजार ६ सयका तरले ६० जनालाई ९६ हजार, टिसर्ट पाँच सयका दरले ६० जनालाई ३० हजार, कप, कलम तीन सयका दरले १८ हजार, ह्यान्डस्आउट प्रतिदिन प्रतिविद्यार्थी दुई सयका दरले ६० जनाको ३० दिनमा तीन लाख ६० हजार, तालिम संयोजक दैनिक एक हजारका तरले ३० दिनको ३० हजार, सहयोगी १५ हजार, चिया विस्कुट ९० हजार, मल्डिमिडिया दैनिक २ हजारको दरले ६० हजार, विविध ५० हजार, उद्घाटन १० हजार, प्रतिवेदन एक हजार, सञ्चार, कार्यालय तथा व्यवस्थापन खर्च ३१ हजार, हलभाडा ९० हजार, प्रोग्राम कोर्डिनेटर ३५ हजार, तालिम संयोजक, प्रोग्राम कोर्डिनेटर र सहयोगीको खाना, खाजा ३६ हजार, अनुगमन खर्च २० हजारसहित १४ लाख ५२ हजार भ्याटबाहेक रकम आर्थिक प्रस्ताव पेस गरेको छ ।
सोही प्रस्तावअनुसार गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजिले भ्याटसहित १६ लाख ४० हजार ७६० रुपैयाँको बिल गत ११ वैशाखमा पेस गरेको थियो। त्यसको तीन दिनपछि उनले भुक्तानी पाएका छन् । यो संस्थाले लोकसेवाको खरिदार र नायव सुब्बा दुवैगरी गरी ३२ लाख ८१ हजार ५२० रुपैयाँ भुक्तानी पाएको छ । एउटै संस्थाले एकैखालको आर्थिक प्रस्ताव पेस गरे दुईवटा कार्यक्रम प्राप्त गर्नुले पनि अनियमितता भएको थप आशंका उत्पन्न गरेको स्थानीय अनिल सिंहले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तीनवटाले प्रस्ताव पेस गर्ने, क्रम संख्या, शीर्षक, रकम एउटै खालको हुने । एउटै शीर्षकमा देखिनुले अनियमितता भएको प्रष्ट पार्छ ।’ अनियमितताको समाचार सार्वजनिक भएपछि नगरपालिकाले छानविन समिति गठन गरेको छ । छानविन समितिमा अनियमितामा संलग्नताको आशंका गरिएका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसाद र राजश्वका कर्मचारी हुनुले समितिप्रति नै आशंका उत्पन्न भएको छ ।
यस सम्बन्धमा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोसँग सम्पर्क गर्दा उनले आफूसहित प्रशासकीय अधिकृत, लेखा, राजश्वका कर्मचारीको छानविन समिति गठन गरेका बताउनुभयो । लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसादसँग सम्पर्क गर्दा उहाँले भन्नुभयो, ‘सबै मिलिसकेको छ । हामी अहिले त्यसैको तयारीमा छौं। अख्तियारले पनि कागजातहरू माग गरेको छ । कामको जिम्मा लिएकासँग हामीले १० लाखभन्दा बढी रकम फिर्ता लिएका छौं। भोलिसम्म यसको सबै प्रतिवेदन अख्तियारमा बुझाइसकेपछि सार्वजनिक गछौं ।’
कर्मचारीहरू आफू बच्न भुक्तानी गरेका रकम फिर्ता गराए
स्थानीयले लोकसेवा कार्यक्रममा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय वर्दिबासमा उजुरी गरेपछि नगरपलिकाका लेखाअधिकृत र प्रमुख प्रशासकीय अधिकृत आफू बच्न आर्थिक ऐनविपरीत भुक्तानी दिएका रकम समेत फिर्ता गर्न लाएका छन् । नगरपालिकाले सम्झौता गरेअनुसारका रकम भुक्तानी दिए पनि स्थानीयहरूको चर्को विरोध र अख्तियारको छानविन पश्चात कर्मचारीहरू अहिले आफु बच्नका लागि गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजिसँग रकम फिर्ता गराएका हुन्।













प्रतिक्रिया दिनुहोस्