धनगढी, १९ साउन । माइतीबाट घर पुग्ने वित्तीकै कैलालीमा एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालका–१७ धुर्जुना माइती भएकी २४ वर्षीया संजीता चौधरी भजनी नगरपालिका–५ लालबोझीस्थित आफ्नै घरमा मृत फेला परेकी हुन् । मंगलबार माइती घरबाट साढे ९ बजे घर जान्छु भनेर निस्केकी संजीता धनगढी बजारबाट १२ बजे बसमा चढेकी थिइन् ।
दुई बजे आफ्नो घर लालबोझी पुगेकी उनी सोहिदिन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । संजीताका श्रीमान् २६ वर्षीय सुवेत यादब सोहिदिन ४र५ महिनाका लागि कमाउन भारत जान्छु भन्दै घरबाट निस्केका थिए । संजीता घर पुग्ने वित्तीकै झुण्डिएर देहत्याग गरेको खबर तिकुनिया पुगेका यादबसम्म पुगेपछि फर्केर घर पुगेको बताइएको छ। तीन वर्षअघि संजीता र सुवेतबिच प्रेम विवाह भएको माइती पक्षले जनाएको छ ।
संजीताको आत्महत्या नभई हत्या भएको हुन सक्ने माइती पक्षको अनुमान छ। ‘झुण्डिएको व्यक्तिको भूइँमा खुट्टा कसरी पुग्छ र मृत्यु हुन्छ,’ मृतक संजीताका मामा हरिनारायण चौधरीले भन्नुभयो । संजीताको मोबाइल समेत उहाँका श्रीमान् सुवेत यादबसँग भेटिएको उहाँले बताउनुभयो । माइतबाट सकुसल घर पुगेकी संजीताको एकाएक झुण्डिएर देहत्याग गरेको विषय पत्यारलाग्दो नभएको उहाँ बताउँनुहुन्छ । प्रहरीले घटनाबारे अनुसन्धा थालिरहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्