जनता टाइम्स

१८ श्रावण २०८०, बिहीबार २०:०१

हनी ट्रयापमा पारी पैसा असुल्ने गिरोह पक्राउ, गृह मन्त्रालयको प्रेस सल्लाहकार भन्दै चलाइएको थियो असुली धन्दा


ललितपुर, साउन ४ । हनी ट्रयापमा पारी पैसा असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आपराधिक लाभ लिन नहुने कसुरमा चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार झापा घर भई बानेश्वर बस्ने २४ वर्षीया अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोक घर भई बानेश्वर बस्ने दिपक पराजुली, भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय बिमल सुवेदी र सानोठिमी बस्ने २४ वर्षीय सरोज तिमल्सिनालाई हनी ट्रयापमा पारेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अनिता मगरले फेसबुकमा पुरूषहरूलाई साथी बनाएर कुराकानी गर्थिन । उनले ट्रयापमा पार्न प्रेम सम्बन्धसम्म बस्ने कुराकानी गर्ने गरेको अनुसन्धानमा खुलेको छ। कुराकानी गर्नेसँगै विभिन्न स्थान एवं होटलमा बोलाउने र त्यसरी सामान्य कुराकानीपछि होटलबाट निस्केर आफूहरू बीचका कुराकानी दाजुभाउजूले थाहा पाएकाले अब उनीहरूले भने बमोजिम गर्नुपर्ने भन्दै ठग्ने गरेको प्रहरीले जनाएको छ ।

अनिताको त्यो कुरासँगै त्यसपछि दीपक पराजुली भन्ने व्यक्तिले ती पुरूषहरूलाई ब्ल्याकमेलिङ गरी थर्काउने गरेका थिए । उनले आफू गृह मन्त्रालयका प्रेस सल्लाहकार हुँ भन्ने गरेका थिए । उनीबाट प्रेस कार्ड समेत बरामद गरेको छ । उनी पेशाले सवारी चालक हुन ।

यस्तै बिमलले पनि पुरूषहरूलाई मेसेज गरी भेट्ने र ब्ल्याकमेलिङ गरी धम्क्याउने गरेको प्रहरीले जनाएको छ । यसरी उनीहरूले योजनाबद्ध रूपमा धम्क्याएपछि पीडित पुरूषलाई कुनै स्थानमा पैसा लिएर आउन भन्ने गरेका थिए । रकम लिन जाँदा सरोजले भने बाहिर कोही आउलान भनेर निगरानी राख्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

उनीहरुको शिकार पीडितहरूले प्रहरी परिसरमा उजुरी दिएका थिए । उजुरी दिएपछि प्रहरीको टोली खटिएको थियो । बुधबार ललितपुरको बालकुमारीस्थित बर्गर हाउसमा ३ लाखको चेक लिइसकेको अवस्थामा उनीहरूलाई प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूबाट मोबाइल, सिमकार्ड, चेक, लागयत बरामद भएको छ । उनीहरूले अर्का एक जना पीडितबाट पनि तीन लाख २५ हजारको चेक लिइसकेको अवस्थामा बरामद भएको थियो ।