जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार ०८:३७

राजधानी सहित देशका विभिन्न भागमा अहिले वर्षा, नदीमा बहाव बढ्न सक्ने


काठमाडौं , भदौ २० । गएरातिदेखि नै मौसम सक्रिय हुँदा राजधानी सहित देशका विभिन्न भागमा अहिले वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले केही बेरअघि जारी जरेको मौसम सम्बन्धी बुलेटिनमा मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास रहेको र अति नै सक्रिय रहेको पूर्वानुमान जनाएको छ ।

उत्तर उडिसा र पश्चिम बंगाल नजिकै न्यूनचापीय प्रणाली कायम रहँदा आज दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाको भनाइ रहेको छ ।

आज बिहान राजधानी काठमाडौंमा १० दशमलब ५ मिलिलिटरसम्म पानी परेको थियो । तर, कैलाली, रुपन्देहीलगायतका क्षेत्रमा भारी वर्षा भएको थियो ।

बाढी पूर्वानुमान महाशाखाले आज र भोलि देशका प्रमुख नदीहरुमा वहाव बढ्न सक्ने जनाएको छ । महाशाखाका अनुसार आज सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, काठमाडौं, नुवाकोट, रसुवा, धादिङ्ग, गोरखा, तनहुँ कास्की, नवलपरासी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका नदीमा वहाव बढ्नेछ । त्यस्तै, आज राति सुर्खेत, दैलेख,जाजरकोट, जुम्ला र कालिकोटका साना नदीमा आकस्मिक वहाव हुन सक्ने जनाइएको छ ।