जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार ०९:५५

स्मार्ट सिटी विकासमा दक्षिण कोरियाले सहयोग गर्ने


काठमाडौं, भदौ २०

काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटीहरुको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ । ऐतिहासिक महत्वका काठमाडौं उपत्यकाका साँखु, बुङमती र खोकनाको परम्परागत बस्तीहरुको पुनर्निर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरुमा स्मार्ट सिटी बनाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काठमाडौं उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनबीच सियोलमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपालका तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेल र कोरियाको तर्फबाट कार्यकारी निर्देशक इन गो काङले सोलमा आयाजित कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो । समझदारी अनुसार पहिलो चरणमा सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनले प्राचीन बस्तीका रुपमा रहेको सााखु, बुङमती र खोकनाको मुख्य बस्ती र सोसाग जोडिएका क्षेत्रहरुको गुरुयोजना तयारी एवं विभिन्न योजनाहरुको विस्तृत परियोजना प्रस्ताव तयार पार्नका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

सो परियोजना प्रस्तावका आधारमा कोरिया सरकार तथा निजी क्षेत्रमार्फत लगानी परिचालन गरिने भएको छ । यस्तै सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेसनले स्मार्ट सिटी विकासका सन्दर्भमा राष्ट्र्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणको संस्थागत क्षमता विकासमा सहयोग पुर्‍याउनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो समझदारी काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको संरक्षण गर्न तथा नयाँ शहरहरुको विकासका लागि कोसेढुङ्गा सावित हुने बताउनुभयो ।