जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार १५:२५

पर्यटनमन्त्री भट्टराईले अघि बढाए बिमानस्थलमा सुधार, अव आन्तरिक उडानतर्फ पनि लगेज बेल्ट


काठमाडौं, भदौ २० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलभित्र सेवा सुविधा थप्ने काम सुरु भएको जानकारी दिनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा आज लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्री भट्टराईले देशभित्र सञ्चालनमा रहेका सबै विमानस्थलमा यसैगरी सेवा थपिँदै जाने बताउनु भयो । काठमाडौंलगायत देशभित्रका विमानस्थलहरुमा पर्यटन वर्ष २०२० लक्षित कार्यक्रम पनि लागु हुने उहाँको भनाई छ । सरकार नागरिकलाई सेवा सुविधा दिन सधैं तयार रहेको बताउँदै मन्त्री भट्टराईले आन्तरिकतर्फको विमानस्थलहरुको भौतिक संरचना र सेवाको बिस्तार गर्दै लैजाने प्रष्ट पार्नुभयो ।

शुक्रबारदेखि सुरु भएको लगेज बेल्टले सेवाग्राहीको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ । यसअघि यात्रु ओसार्ने गाडीको पछाडि झुन्ड्याएको कन्टेनरमा समान ल्याउने गरिन्थ्यो र बायुसेवाका कर्मचारीले टिकटसँगै सामानमा लगाएको ट्यागको नम्बर सोधेर सामान जिम्मा लगाउँथे । अब यो सबै झन्झट हटेको छ ।