जनता टाइम्स

३० श्रावण २०८०, मंगलवार १२:५२

आज सार्वजनिक हुँदै कक्षा १२ को नतिजा, यस्तो छ नतिजा हेर्न सकिने ब्यवस्था


काठमाडौं, साउन ३० । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्डले जनाएको छ ।

उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ । प्राविधिक समस्या आएको अवस्थामा भने बुधवारका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार साउनभित्रै नतिजा सार्वजनिक गर्ने बोर्डको तयार गरेको तालिकाअनुसार आज सार्वजनिक गर्न लागिएको हो । उहाँका अनुसार बोर्ड नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेको र नतिजा सार्वजनिक गरेपछि विद्यार्थीको मार्कसिटलगायतमा कुनै त्रुटि नहोस भनेर अन्तिम रुजु गर्ने काम भइरहेको छ ।

बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।