जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार १७:५२

प्रचण्डको निश्कर्ष : आर्थिक क्षेत्रको प्रगती गरेर मात्रै परिवर्तनलाई जोगाउन सकिन्छ


काठमाडौं, भदौ २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आर्थिक क्षेत्रको प्रगती गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने निश्कर्ष सुनाउनु भएको छ । काठमाडौंमा आजबाट सुरु भएको ट्रेकिङ एजेन्सि एशोसिएशन अफ नेपाल (टान) को ४१ औं साधारणसभाको उदघाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले सो निश्कर्ष सुनाउनु भएको हो ।

‘आर्थिक क्षेत्रको प्रगती गरेर मात्रै परिवर्तनलाई जोगाउन सकिन्छ, अन्यथा खतरामा पर्छ,’ प्रचण्डले भन्नुभयो । उहाँले आर्थिक समृद्धिविना मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने खतरा औंल्याउनु भयो । ‘आर्थिक समृद्धिविना मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्छ, यो यथार्थलाई हामीले राम्रैसँग बुझेर नै काम गरिरहेका छौं,’ प्रचण्डको भनाई थियो । राजनीतिक नेतृत्व, नागरिक समाज र निजी क्षेत्र मिलेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने आवश्यक्ता रहेको धारणा पनि उहाँको थियो ।

अध्यक्ष प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक रुपान्तरणको यात्रालाई अघि बढाउन सकिने रोडम्यापसमेत राख्नुभयो । पर्यटन क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने उहाँको भनाई छ ।

आजबाट सुरु भएको साधारण सभाले टानको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित १७ पदका लागि निर्वाचन हुनेछ । निर्वाचनमा कांग्रेस र नेकपा समर्थक गरी दुई प्यानल मैदानमा उत्रिएका छन ।