जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार ०७:२२

चन्द्रयान–२ को विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद, चन्द्रमाको सतहमा घुमेर अनुसन्धान गर्ने योजना अब के हुन्छ ?


भदौ २१,  चन्द्रमाको सतहमा उत्रनुभन्दा केही पहिलेदेखि भारतीय चन्द्रयान–२ को विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष के सिवनले भने, ‘विक्रम ल्याण्डर योजनाअनुरुप नै उत्रिरहेको थियो । चन्द्रमाको सतहभन्दा २.१ किलोमिटर टाढासम्म सबै सामान्य थियो । तर त्यसपछि उसँग सम्पर्क टुटेको छ । डेटाको समीक्षा भैरहेको छ ।’

योजनाअनुरुप विक्रम ल्याण्डर शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमाको सतहमा उत्रनु पर्दथ्यो ।

भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धिको हौसला बढाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेंग्लोरमा रहेको इसरोको मुख्यालय पुगेका थिए । सबै सामान्य भएकाले वैज्ञानिकहरु उत्साहित देखिन्थे तर अचानक विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद भएपछि भने उनीहरु निरास देखिन्थे ।

विक्रम ल्याण्डरसँगको सम्पर्क टुटेपछि प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुलाई हौसला दिँदै भने, ‘जीवनमा उतार–चढाव आइरहन्छ । मैले कम्युनिकेसन अफ भैरहेको देखेको थिएँ । तर यो पनि सानो उपलब्धि होइन, देश तपाईँहरुप्रति गर्व गर्दछ । तपाईँहरुको मेहनतले धेरै कुरा सिकाएको पनि छ । मेरो तर्फबाट तपाईँ सबैलाई धेरै बधाई छ । तपाईँहरुले देश र विज्ञानको सेवा गर्दै हुनुहुन्छ । म पूर्ण रुपमा तपाईँहरुको साथमा छु ।’

भारतीय वैज्ञानिकका लागि आजको दिन अन्तरिक्षको अनुसन्धानका लागि एउटा कोशेढुंगा सावित हुँदै थियो । पूरा विश्वको ध्यान चन्द्रयान–२ मा थियो । बिहान साढे एक बजे चन्द्रयान–२ को विक्रम ल्याण्डर बिस्तारै चन्द्रमाको सतहमा उत्रँदै थियो ।

विक्रम ल्याण्डर पहिले चन्द्रमाको कक्षमा रहेको अर्बिटरसँग अलग हुँदै थियो त्यसपछि उसलाई चन्द्रमाको सतहमा ल्याण्ड गराउने योजना थियो । ल्याण्डरसँगै प्रज्ञान नाम गरेको रोभर पनि थियो । जसले ल्याण्डरको सुरक्षित अवतरणपछि बाहिर निस्केर चन्द्रमाको सतहमा घुमेर अनुसन्धान गर्ने योजना थियो ।

इसरोले चन्द्रयान–२ का लागि चन्द्रमाको दक्षिणी ध्रुव छनोट गरेको थियो । त्यहाँ विक्रम ल्याण्डरलाई सफ्ट ल्याडिङ गराइँदै थियो तर ल्याण्ड हुनुभन्दा केही पहिले मात्रै सम्पर्क विच्छेद भैदियो ।

चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो देश हो । अहिलेसम्म चन्द्रमाको भूमध्य रेखाको आसपास नै यानहरु पठाइएको थियो । यदि यो मिसनमा सफल भए अमेरिका, रुस र चीन पछि भारत चन्द्रमामा अन्तरिक्ष यान पठाउने चौथो देश बन्नेछ ।

यदि भारतको प्रज्ञान रोभरमा जडान गरिएको सेन्सरबाट चन्द्रमाको दक्षिणी ध्रुवमा रहेका ठूला–ठूला खाल्डामा पानी रहेको प्रमाण भेटिएमा यो अन्तरिक्ष अनुसन्धानमा ठूलो फड्को हुने थियो । चन्द्रयान–२ को मिसन सफल भएमा अमेरिकी अन्तरिक्ष एजेन्सी(नासा)ले २०२४ पठाउँदै गरेको एक महत्वाकांक्षी मिसनलाई पनि सहयोग पुग्ने बताइन्छ । अहिले नै सबै समाप्त भैसकेको छैन । वैज्ञानिकहरुले ल्याण्डरसँग सम्पर्क स्थापित हुने आशा राखेका छन् ।