जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार १९:०३

वाह ! सल्यानको वाफुखोला : एउटै वडाले गर्यो एकै बर्ष पन्ध्र करोडको आलु निर्यात


सल्यान, भदौ २१ । मेहनत गरे असंभव भन्ने केही छैन भन्ने तथ्यलाई सल्यानको विकट एउटा गाउँले उजागर गरिदिएको छ । वाफुखोला गाउँले अहिले करोडौँको आलु निर्यात गरी आफ्नो पहिचान बदलेको हो । बागचौर नगरपालिका–१२ वाफुखोलाबाट यस वर्ष १५ करोड रुपैयाँको आलु निर्यात भएको छ ।

आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर आलुखेती गर्दै आएका छन् । वाफुखोलाका ८० प्रतिशत जमीनमा वर्षे आलुखेती गरिँदै आएको छ । आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक आलुखेतीमतर्फ आकर्षित हुँदै आएका छन् । कुनै बेला परिवारको गर्जो टार्न भारतका विभिन्न स्थानमा पुगेर पसिना बगाउँदै आएका वागचौर नगरपालिका–१२ की वाफुखोलाकी कमला वलीले आलुखेती शुरु गरेपछि भारत नगएको बताउनु भयो । ‘२० वर्षसम्म भारतका विभिन्न स्थानमा पुगेर पसिना बगायौं, त्यो छाडेर आलुखेती गरेपछि वर्षेनी तीनदेखि सात लाख रुपैया बराबरका आलु बिक्री गर्दै आएका छौं,’ वलीले भन्नुभयो ।

परम्परागत अन्नबाली लगाउँदा खासै परिवारका आर्थिक अवस्था राम्रो नभएपछि व्यावसायिकरूपमा आलुखेती गर्न शुरु गरेको स्थानीय गणबहादुर वलीले बताउनुभयो । ‘मेरो १५ रोपनी जग्गा छ, मकै, गहँु लगाउँदा तीन महीनाभन्दा बढी खाना कहिल्यै पुगेन तर अहिले आलुखेतीबाट वर्षेनी रु चारदेखि छ लाखसम्म आम्दानी गर्दै आएको छु,’ उहाँको भनाई छ । सडक पुगेपछि व्यापारी गाउँमै पुगेर आलु खरीद गर्न थालेपछि किसानमा उत्साहसमेत थपिएको स्थानीय दुर्गाबहादुर वलीले बताए ।

‘पहिले आलु लगाउँदा सडक थिएन, आलु बिक्री गर्न धौधौ हुन्छ, तर, अहिले आलु खरीद गर्न व्यापारी बारीमै आउँछन, यसले किसानमा थप हौसला थपेको छ,’ उहाँले भन्नुभयो । गाउँमै आलुखेती गर्न थालेपछि भारत जानेको संख्या न्यून रहेको वडा नम्बर १२ का वडाध्यक्ष दीपक वलीले जानकारी दिनुभयो । ‘तीन वर्षअघिसम्म यहाँका मानिस वैशाख–जेठमै सबै परिवार लिएर मजदुरीका लागि भारत जाने गर्थे, अहिले आलुखेतीमा लागेपछि भारत जानेको संख्या नगण्य मात्रामा रहेको छ,’ वलीले भन्नुभयो ।

सो वडामा आलु भण्डारणका लागि चिस्यान केन्द्र नहुँदा कृषक मर्कामा परेका वडाध्यक्ष वलीको भनाइ छ । ‘आलुको पकेट क्षेत्रका रुपमा घोषणा गरिए पनि आलुको भण्डारणगृहको अभाव रहेको छ, यसले गर्दा कृषकले भण्डारण नगरी बारीबाटै आलु बिक्री गर्नुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो । यस वर्ष मात्रै करीब १२ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयले जनाएको छ । यस वडाको करीब दुई हजार रोपनीमा आलुखेती गरिएकामा छ हजार मेट्रिक टन आलु निर्यात भएको तथा बाँकी बीउ र स्थानीय बजारमा बिक्री भएको सम्पर्क कार्यालयले जनाएको छ ।

यहाँ उत्पादन भएको आलुमा विषादीको मात्रा न्यून रहेको र स्वादिष्ट हुने भएकाले यहाँको वर्षे आलुको माग उच्च रहेको छ । यहाँ उत्पादन भएको आलु दाङ, नेपालगञ्ज, धनगढी, चितवन, पोखरासम्म निर्यात हुँदै आएको छ । गत आर्थिक वर्षमा प्रतिकेजी रु १५ देखि २० मा आलु बिक्री गरेका कृषकले यस वर्ष प्रतिकेजी २५ रुपैयाँसम्ममा बिक्री गरेका छन् ।