जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार १९:२९

गौतमबुद्ध विमानस्थलबाट उडान भर्ने अन्तराष्ट्रिय कम्पनीलाई प्रोत्साहन गर्ने पर्यटनमन्त्री भट्टराईको घोषणा


काठमाडौं, भदौ २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्माण सम्पन्नको चरणमा गइरहेको भैरहवा विमानस्थलबाट उडान गर्ने अन्तराष्ट्रिय वायु सेवा कम्पनीलाई विभिन्न प्रकारको छुट दिएर प्रोत्साहन गर्ने घोषणा गर्नुभएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले सो घोषणा गर्नुभएको हो ।

‘भैरहवा विमानस्थलबाट उडान गर्ने अन्तराष्ट्रिय वायु सेवा कम्पनीलाई विभिन्न प्रकारको छुट दिएर प्रोत्साहन गरिनेछ,’ पर्यटनमन्त्री भट्टराईले भन्नुभयो । नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउँदै छ । सोही वर्षको सुरुवातमै भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तराराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ । मन्त्री भट्टराईले यो विमानस्थलबाट उडान गर्ने अन्तराष्ट्रिय वायु सेवालाई ल्याण्डिङ, पार्किङ, एयर नेभिगेसन, इन्धनसहितको सुविधामा छुट दिइने तयारी भइरहेको छ ।

यो विमानस्थलबाट उडान तथा अवतरणको लागि सरकारले केही छुट दिएर वायुसेवा कम्पनीलाई प्रोत्साहन गरिने उहाँको भनाई थियो । नेपालमा विभिन्न देशबाट आउने मुस्लिम पर्यटकको लागि पनि राजधानी भित्रै वा नजिकै प्रार्थना केन्द्र बनाएर आकर्षित गर्नुपर्ने निश्कर्षसहित काम अघि बढाइएको बताउनु भयो । उहाँले पाँच तारे होटेललाई पनि मुस्लिम पर्यटकको निम्तिसमेत मेनु बनाउन आग्रह गर्नुभयो ।